Logo
११ मंसिर २०८१, मंगलबार
(July 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऊर्जा र सिँचाई क्षेत्रमा लगानी गर्न इजरायल सरकार आतुर

काठमाडौं : नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरले ऊर्जा र सिँचाईको क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार आतुर रहेको बताएका छन् । सोमवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेटका लागि सिंहदरबार पुगेका राजदूत ओमेरले भने, ‘नेपालको जलविद्युतमा लगानी गर्न इजरायलबाट निजी क्षेत्र आउन तयार छ, त्यसका लागि हामी साझेदार खोजिरहेका छौं ।’ उनले निर्माण र हस्तान्तरण ढाँचामा काम गर्न इजरायल इच्छुक रहेको बताए ।

भेटका क्रममा उर्जामन्त्री पुनले नेपालमा नयाँ संविधान जारी भइसकेपछि स्थायित्वको युग शुरु भएको भन्दै इजरायली लगानीकर्तालाई ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनाइदिन राजदूत ओमेरसँग आग्रह गरेका थिए । मन्त्री पुनले भने, ‘हामीलाई १० वर्षमा १० हजार मेगावाट बिजुलीको आवश्यकता छ, अहिले लगानीको राम्रो वातावरण समेत बनेको छ । तपाईमार्फत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्तालाई आग्रह गर्छु ।’

उनले इजरायलसँग धेरै लामो कुटनीतिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मजबूत बन्ने विश्वास समेत व्यक्त गरे । लामो समयदेखि दुई देशको बीचमा कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहदै आएको भन्दै मन्त्री पुनले आगामी दिनमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न सरकार इच्छुक रहेको धारणा राखे ।

भेटवार्तामा द्विपक्षीय हितका अन्य विविध विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ । रासस

प्रकाशित मिति: Jul 30, 2018

प्रतिक्रिया दिनुहोस्