एक महीनादेखि ‘ग्राउण्डेड’ पहिलो वाईड बडी बुधवारबाट उड्ने
काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक महीनादेखि ‘ग्राउण्डेड’ रहेको नेपाल वायु सेवा निगमको पहिलो वाईड बडी जहाजले साउन १६ गते बुधवारबाट व्यावसायिक उडान गर्ने भएको छ ।
सोमवार सबै परीक्षण सकिएपछि वाईड बडीलाई प्राधिकरणले उडान अनुमति दिएको निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले बताएका छन् । उक्त विमानले आफ्नो पहिलो व्यावसायिक उडान काठमाडौं–दोहाबाट शुरु गर्दैछ ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमको पहिलो वाइड बडी जहाजले राति १० बजे उडान गर्नेछ । निगमको जहाजले सातामा तीन उडान गर्नेछ । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमानले पुरानो गन्तव्य कतारको राजधानी दोहाबाट आफ्नो पहिलो उडान भर्न लागेको निगमले बताएको छ । दोहाका लागि निगमको २७४ सिट नै भरिसकेको छ ।
“दोहा उडानका लागि निगमले आज नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट उडान अनुमतिपत्र .(ओसी) पाएको हो”, महाप्रबन्धक कंसाकारले भने । “प्राधिकरणबाट आज अनुमति पाएका छौँ, भोलि मंगलबारसम्म सबै प्रक्रिया पूरा गरेर व्यावसायिक उडान शुरु गर्ने योजना बनाएका छौँ”, उनले भने ।
वाइड बडीले भारतको नयाँ दिल्ली परीक्षण उडान ‘पुफिङ फ्लाइट’ गरिसकेको छ । पहिलो वाइड बडी गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
गत असार १४ गते त्रिभुवन विमानस्थलमा अवतरण गरेको ‘ए ३३०–२००’ सिरिजको जहाजको नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल वायु सेवा निगमले सम्पूर्ण प्राविधिक जाँचको काम पूरा गरेपछि उड्नका लागि अनुमति पाएको हो ।
युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको उक्त सिरिजका दुई ओटा वाईड बडी जहाज नेपालले खरीद गरेको छ । दोस्रो विमान साउन १० गते काठमाडौं आईपुगेको हो । उक्त विमानको पनि प्राविधिक काम पूरा भएपछि छिटै उड्ने निगमले बताएको छ ।
निगमको पहिलो वाईड बडीलाई ‘अन्नपूर्ण’ र दोस्रोलाई ‘मकालु’ नामाकरण गरिएको छ ।