Logo
११ मंसिर २०८१, मंगलबार
(July 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुद्रा सम्बन्धी कसुरमा कडा कारबाहीको व्यवस्था

काठमाडौं : अबदेखि नोटमा लेख्न वा केरमेट गर्न नपाइने भएको छ । नोटमा केरेको भेटिएमा जेल चलान हुनेछ । मुलुकी अपराध (संहिता्र) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि । (संहिता) ऐन २०७४ र फौजदारी कसुर (सजाय) निर्धारण तथा कार्यान्वयन ऐन २०७४ भदौ १ गते देखि लागू हुँदैछ । सोही ऐनको परिच्छेद २२ मा मुद्रा सम्बन्धि कसुरको व्यवस्था गरिएको छ ।

परिच्छेद २२ को दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न र लेख्न नहुने भनिएको छ । अधिकार प्राप्त अधिकारीको आदेश बिना नोटमा लेख्न वा केरमेट गर्न, जलाउन लगायत कुनै पनि काम गर्न पाइने छैन । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सफा नोट राख्ने नीति लिएपनि कार्यान्वयनमा आउन नसकेपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यहि ऐन मार्फत नोटमा जथाभावी गर्नेलाई कडाइ गर्ने नीति लिएको हो ।

यदि कसैले ऐनमा उल्लेख भएअनुसार नोटमा केरमेट गर्न तथा जलाउन नहुने कुरालाई पालना गर्दैन भने त्यस्ता ब्यक्ति जेलसमेत चलान हुन सक्ने अवस्था सृजना गरेको छ । नोटमा केरमेट गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यस्तै अक्षर, चिन्ह र आकार नै नचिनिने गरी झुत्रो भएको नोट जलाउने ब्यक्तिले बदनीयतपूर्वक कसैलाई दियो भने उसलाई तीन वर्ष जेल सजाय र तीस हजार जरिवाना हुने व्यवस्था यो ऐनले गरेको छ ।

नोटको प्रयोग गर्नेले जतन गरेर प्रयोग नगरिदिँदा नोटको आयु घट्ने गरेको मुद्रा व्यवस्थापन विभागका कार्यकारी प्रमुख लक्ष्मी प्रपन्न निरौलाले बताए । उनले यो ऐन लागु भएपछि कारबाही हुने डरले पनि नोटको प्रयोगमा आम नागरीक सचेत हुने र नोटको आयु बढ्ने तर्क गरे । २०७४ असोज ३० गते प्रमाणिकरण भएको यो ऐन यहि भदौ एक गतेदेखि लागू हुनेछ ।

प्रकाशित मिति: Jul 30, 2018

प्रतिक्रिया दिनुहोस्