शिक्षक समेत रहेका कांग्रेसको वडा सभापतीले पञ्चायतीमै महिलालाई कुटे
जनकपुरधमा : पञ्चायतकै क्रममा धनुषामा एक महिलामाथि निर्घात कुटपीट भएको छ । धनुषाको कमला नगरपालिका ६ सिंगियाही मडान बस्ने प्रमेश्वर मण्डलका श्रीमती ४० वर्षकी मिनादेवी मण्डल पञ्चायतमै निर्घात कुटिएकी हुन् ।
कुटपीटबाट मिनादेवीको तिघ्रा, पाखुरा, हात र शरीरको विभिन्न भागमा गहिरो चोटको डाम देखिएको छ । उनको उपचार जनकपुर अञ्चलमा भइरहेको प्रहरीले जनाएको छ ।
घटना बुधबार दिँसोको हो । स्थानीय ललित मण्डलका अनुसार अनुसार गत मंगलबार मिनादेवीकी छोरी १४ वर्षकी प्रियंका मण्डल खेतबाट घाँस काटेर आउँदै गरेको बेला स्थानीय जुक्ति मण्डलका १५ वर्षका छोरा डोमा मण्डल जिस्काएर दुव्र्यवहार गरेका थिए । दुव्र्यवहार पश्चात मिनादेवी छोरी जिस्काउने युवक डोमा मण्डललाई दण्डसजाय हुनु पर्ने भन्दै पञ्चायत बसाउन गाउँलेलाई गुहार गर्नुभएको थियो ।
स्थानीय नेपाली काँग्रेसका वडासभापत्ति एवं शिक्षक उमेश मण्डलले बुधबार दिँउसो आफ्नै दरबाजामा पञ्चायतको समय तोक्नुभयो । बुधबार दिँउसो पञ्चायत बसेपछि पीडित पक्षको पञ्चहरु जान बाँकी नै थियो । तर पनि त्यहाँ उपस्थित पञ्चहरुले दुवै पक्षलाइ आयिन्दा विवाद गरे ५०/५० हजार जरिवाना गर्ने भनेर पञ्चहरुले निष्कर्ष निकालेका थिए । त्यसै क्रममा मिनादेवीले अस्वीकार गरेपछि पञ्चायतमै स्थानीय ४२ वर्षका श्याम मण्डल, गंगा मण्डल, कामेश्व मण्डल र उमेश मण्डल सहितले लाठी हात र मुक्काले कुटपीट गर्न थालेको पीडित मिनादेवीको भनाई छ ।
पीडित मिनादेवीले दुखेसो पोख्दै भन्नुभयो ‘मेरो पक्षको पञ्चहरु आउन बाँकी नै थियो । त्यहाँ एकपक्षीय निर्णय गर्यो । मैले अस्वीकार गरेपछि एकाएक सबै लठ्ठी, थप्पर, लातले हिर्काउन थाले ।’ उहाँले त्यस पञ्चायतको मुख्य योजनाकार उमेश मण्डल रहेको र आफु बाँच्न उनको शरणमा जाँदा उल्टे हिर्काएको आरोप लगाउनुभयो । घटन पश्चात पीडित पक्षले स्थानीय सखुवा प्रहरीचौकीमा खबर गरेका थिए ।
प्रहरीले पीडित र कुटपीट गर्ने पक्षका ४।५ जनालाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय खजुरी लगेको थियो । पक्राउ पश्चात माहोल तातिएपछि छलफलका लागि सखुवा प्रहरी चौकीमै पठाइएको थियो । सखुवा प्रहरी चोकीमा पनि छलफल हुन सकेन । त्यहाँबाट मिनादेवी मण्डललाई उपचारको लागि पठाइएको र उपचार पश्चात घटनाको छिनोफानो हुने ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक केशवराज थानदारले बताउनुभयो ।
घटनामा पीडित पक्षले केटालाई कुटपीट गरेपछि पञ्चायतकै क्रममा ती महिलामाथि कुटपीट भएको प्रहरी निरीक्षक थानदारको भनाई छ । यता आरोपित स्थानीय बासिन्दा एवं शिक्षक उमेश मण्डलले आफुले कुटपीट नगरेको दावी गर्नुभयो । उहाँले पञ्चायतको क्रममा मिनादेवीक देवर पर्ने श्याम मण्डलले लठ्ठीले हिर्काएको र गंगा मण्डलले मिनादेवीको छोरालाई कुटेको स्वीकार गर्नुभयो ।
घटना पश्चात सखुवा प्रहरीचोकीमा छलफल समेत भएको उहाँले बताउनुभयो । कुटिएकी महिला मिनादेवीकी पत्ति प्रमेश्वर मण्डल वैदेशिक रोजगारीमा बाहिर हुनुहुन्छ । पीडित मिना मण्डलले आफुमाथि कुटपीट गर्नेहरुलाई कार्वाहीका लागि पहल गरिदिन सबै पक्षसंग आग्रह गर्नुभएको छ ।