प्रदेश नं २ मा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दै
वीरगञ्ज : जनचेतनाको अभाव ,वैदेशिक रोजगार र श्रीमान् श्रीमतिबीच अविश्वास जस्ता कारणले गर्दा प्रदेश नं २ मा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ ।
वैदेशिक रोजगारमा पुरुषहरू खाडी मुलुक गएपछि महिलाहरू स्वतन्त्र हुन खोज्नु, गरिबी तथा अशिक्षाको कारण सानैमा छोरीको विवाह गरिनु, पतिपत्नीले एक-अर्कालाई बुझ्न नसक्नु बहुविवाह तथा सम्बन्धविच्छेदका कारण भएको सरोकार वालाहरूको ठम्याइ रहेको छ । पछिल्लो समयमा बारा जिल्लामा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटनाहरू बढ्दै जानुले सामाजिक विकृति एकपछि अर्को उजागर हुँदै गएको छ । महिला तथा पुरुषबीच अविश्वासको खाडल बढ्दै गएपछि यस्ता घटनाहरू बारा जिल्लामा दोब्बरको संख्यामा वृद्धि हुनु चिन्ताको विषय बनेको प्रहरी तथा अदालतको तथ्यांकले पुष्टि गरेको छ ।
आव २०७३/७४ भन्दा आव २०७४/७५ मा बहुविवाहसम्बन्धी मुद्दा दोब्बरले बढेको जिल्ला अदालत बाराले जनाएको छ । जसअनुसार २०७३/७४ मा ६ वटा बहुविवाहको मुद्दा परेकामा २०७४/७५ मा यसको संख्या बढेर १४ वटा पुगेको छ । यस्तै आव २०७३/७४ मा १२७ वटा सम्बन्ध विच्छेदको मुद्दा परेकामा आव २०७४/७५ मा यसको संख्या बढेर १३० वटा पुगेको छ । बहुविवाह कानूनी अपराध हो भन्ने चेतनाको कमी, वैदेशिक रोजगारी तथा घरेलुहिंसाको कारण यस्ता घटनाहरू समाजमा घट्ने गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले बताए ।
नेपाल पत्रकारमहासंघ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले अज्ञानता, शहरीजीवन शैली तथा तडकभडक, नकारात्मक सोचहुनु तथा सामाजिक असन्तुलनको कारण यस्तो वातावरणको विकास हुँदै गएको बताए । देश संघीयतामा गएपछि संघीय सरकारले पहिलो चरणको मुद्दा मामिला सुनुवाइ गर्ने अधिकार स्थानीय तहलाई दिए पनि कानूनको ज्ञाता नै नभएका जनप्रतिनिधिहरूलाई यस्ता मुद्दा किनारा लगाउन समस्या हुने गरेको छ ।