Logo
३ मंसिर २०८१, सोमबार
(July 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार र डा. केसी पक्षबीच औपचारिक वार्ता नै नबसी भाँडियो

काठमाडौं, ९ साउन : अनशनरत डाक्टर गोविन्द केसी र सरकारबीच आज हुने भनिएको सहमति वार्ता नै नबसी भाँडिएको छ । स्रोतका अनुसार सत्तारुढ नेकपाका नेताहरुले सहमतिनजिक भनेपनि सरकार र डा. गोविन्द केसीबीचको वार्ता मुख्य मुद्दामा प्रवेश नै नभएको पाइएको छ ।

सरकारी र डा. केसी पक्षको वार्ता टोलीबीच चिकित्सा शिक्षा विधेयकबारे छलफल नै हुन सकेको छैन । आफूहरुको मागप्रति सरकार गैरजिम्मेवार र संवेदनविहीन भएको आरोप लगाउँदै डा गोविन्द केसी वार्ता टोलीका संयोजक डा अभिषेकराज सिंहले बुधबार विज्ञप्ति निकालेर तत्काल अर्को चरणको वार्ता नगर्ने जानकारी गराएका हुन् ।

‘हामीले सरकारलाई उपलब्ध गराएको सूचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिबद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउँछौं।’ सत्याग्रही डा केसीको स्वास्थ्य असाध्य नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैरजिम्मेवार र संवेदनविहीन हुँदै विधेयकसम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको उनको आरोप छ।

सरकारी पक्षको अलमलका कारण डा. केसीको स्वास्थ्यमा क्षति पुग्ने अवस्था आएको भन्दै उनले यस्तो अवस्थामा थप अलमल गरेर आफूहरु झनै जोखिममा पार्न तयार नरहेको विज्ञप्तिमा जनाइएको छ। सरकारले छलकपटपूर्वक डा. केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने काम गरेको भन्दै डा. सिंहले आपत्ति जनाएका छन्।

प्रकाशित मिति: Jul 25, 2018

प्रतिक्रिया दिनुहोस्