गोठमा सुतेको अवस्थामा पहिरोले पुरिएर तीन जनाको मृत्यु
रोल्पा : रोल्पाको पूर्वी एरिया स्थित अरेसमा पहिरोले गोठ पुर्दा तीन जनाको मृत्यु भएको छ । आइतबार रातिको वर्षाका कारण सुनील स्मृति–८ फूलधारामा रहेको उक्त गोठ पहिरोमा पुरिँदा स्थानीय १८ वर्षीया चमेली पुन, १२ वर्षीय ओबी घर्ती र १८ वर्षीय हुमे घर्तीको मृत्यु भएको हो । गोठमा सुतेको अवस्थामा उनीहरुको मृत्यु भएको हाे ।
घटनाबारे जानकारी पाएपछि गाउँले भेला भएर भत्किएको गोठभित्रबाट शव निकालेका थिए। प्रहरीका अनुसार घरमा खाना खाएर गोठभित्र रहेका बस्तुभाउ हेरचाह गर्न उतै सुत्न गएको बेला पहिरोमा पुरिएका थिए। गाउँदेखि उक्त गोठ टाढा भएकाले उनीहरुको तत्काल उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ। मारिएका सबै आफन्त हुन्।
पहिरोले पुरिएको उक्त गोठ स्थानीय हस्ते पुनको हो। गोठदेखि माथिबाट पहिरो खसेको हो। गाउँपालिका केन्द्र सुलीचौरदेखि घटनास्थल करिब १२ किलोमिटर टाढा पर्छ। पहिरोमा परी अघिल्लो महिना दक्षिण रोल्पास्थित रुन्टीगढी गाउँपालिकाको सैवाङमा घर पुरिदा तीन जनाको मृत्यु भएको थियो।
त्यसबेला नवजात शिशु, सुत्केरी महिला र एक किशोरीको मृत्यु भएको थियो। रोल्पामा भारी वर्षा हुँदा खसेको पहिरोबाट मानवीय क्षति निरन्तर भइरहेको छ।