केसीको आन्दोलन : रेकर्ड तोड्यो, अनशन तोडिएन, जटिल स्वास्थ्य, वार्ता अनिश्चित
काठमाण्डौ, ७ साउन : डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै अहिलेसम्मको सबैभन्दा धेरै दिन अनशन बिसेका छन् । विगत २४ दिनदेखि आमरण अनसनमा रहेका डा. केसीको यो अनशन अहिलेसम्मकै लामो हो ।यसअघि ११ औं अनसनका क्रममा डा. केसी २३ दिन लामो अनसन बसेका थिए । उनले गत वर्ष साउनमा २३ दिन लामो अनसन बसेका हुन् ।
तर त्यसबेला प्राकृतिक विपद् आएको भन्दै उनले २३ दिनमा आफ्नो अनसन अचानक स्थगित गरेका थिए । त्यो नै उनको अहिलेसम्मको सबैभन्दा लामो अनसनको रेकर्ड हो । यसपटकको अनसन अझै केही दिन जारी रहने देखिएको छ । सरकार मागप्रति संवेदनशील नभएको भन्दै डा. केसी पक्षले पूर्ण म्यान्डेडसहितको वार्ता टोली गठन गर्न सरकारसित माग गरिरहेको छ ।
हाल गठित वार्ता टोलीसित समेत डा. केसी पक्षले वार्ता गर्न इन्कार गरेका छन् । जसका कारण डा. केसीको यो अनसन थप लम्बिने देखिएको छ । सरकारले केही दिनलाई संसद् स्थगित गरेर सकारात्मक संकेत दिए पनि संसदमा पेश भएको चिकित्सा स्वास्थ्य विधेयक फिर्ता लिने संकेत दिएको छैन ।
विधेयक फिर्ता हुनुपर्ने माग राख्दै अनरन बसेका डा. केसीले गत असार १६ गते जुम्लाबाट आफ्नो अनसन सुरु गरेका थिए । उनले संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता हुनुपर्ने माग राख्दै अनसन बसेका थिए । तर अनसनका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सरकारले डा. केसीलाई चार दिनअघि जुम्लाबाट ‘रेस्क्यु’ गरी काठमाडौ ल्याएको थियो ।
डा. केसी हाल त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा रहेका छन् । उनको मागप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न राजनैतिक दलले समेत काठमाडौमा आन्दोलन गर्दै आएका छन् । केसीको स्वास्थ्य अवस्थामा भने गम्भीर बन्दै गएको छ । स्वास्थ्य जाँच गराउन नमानेका कारण चिकित्सकले उनको रगतमा पोटासियम, म्याग्नेसियम, क्याल्सियमलगायत इलेक्ट्रोलाइटको घटदो मात्राबारे कुनै जानकारी प्राप्त गर्न सकेका छैनन् ।