डा.केसीको जीवनरक्षाका लागि स्वास्थ्य निकाय बन्द गरेर आन्दोलन गर्ने चेतावनी
काठमाडौँ, २६ असार : नेपाल चिकित्सक संघले डा.गोविन्द केसीको जीवनरक्षाका लागि स्वास्थ्य निकायहरू बन्द गर्ने बाध्यकारी स्थिति आउन नदिन सरकारसमक्ष आग्रह गरेको छ । संघका पदाधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेटी यस्तो अवस्था आउन नदिन पहल गर्न आग्रह गरेका हुन् । उनीहरूले चाँडोभन्दा चाँडो वार्ता गरेर निष्कर्षमा पुर्याउन आग्रह गर्दै यसो नभए स्वास्थ्य निकाय बन्द गरेर आन्दोलन गर्ने चेतावनीसमेत दिए ।
जुम्लामा आमरण अनशन बसिरहेका डा. केसीको स्वास्थ्य स्थिति खस्कँदै गएपछि संघका पदाधिकारीहरूले मन्त्री यादवलाई भेटेका हुन् । उनीहरूले यादवसमक्ष स्वास्थ्य शिक्षा तथा नागरिक स्वतन्त्रतासँग सम्बन्धित ७ बुँदे माग पनि प्रस्तुत गरेका छन् । संघको टोलीले आइतबारै प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेको थियो । यो केसीको १५ औं अनशन हो ।
मन्त्री यादवले भने आन्दोलनका कार्यक्रममा नजान चिकित्सकहरूलाई आग्रह गरेका थिए । चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले आफ्ना आजीवन सदस्यको जीवनरक्षा गर्न अस्पताल बन्द गर्न बाध्य हुने बताएको र मन्त्री यादवले विशेष पहल गर्ने आश्वासन दिएको जनाए । ‘उहाँ मरिरहेको हामी हेर्न सक्दैनौं,’ कार्कीले भने । संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पनि आफूहरूले यस्तै आग्रह गरेको बताए ।
‘उहाँले ज्ञापनपत्र अध्ययन गरेर, खबर गर्छु भन्नुभएको छ,’ उनले भने, प्रधानमन्त्रीले डा.केसीसँग सम्पर्क गर्ने प्रयास गरिरहेको कुरासमेत आएको छ ।’ यसअघि डा.केसीका जायज माग पूरा गर्न चिकित्सक संघले सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम मंगलबार दिउँसो सकिँदै छ । पछिल्ला चार दिनदेखि देशभरिका चिकित्सकहरू डा.केसीको समर्थन र सरकारको विरोधमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।
सरकारले सकारात्मक पहल नगरे मंगलबार दिउँसो संघको कार्यालयमा हुने विशेष बैठकले विरोधका कडा कार्यक्रम ल्याउनेसमेत डा.श्रेष्ठले जनाए । देशभर संघमा आबद्घ चिकित्सकहरू करिब ८ हजार छन् ।