केसीको समर्थनमा अर्धनग्न प्रदर्शन, अस्पताल बन्द
काठमाण्डौ, १९ असार : प्रा. डा. गोविन्द केसी हिरासतमै अनशन बसिरहेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा भएका विकृतिविरुद्ध वर्षौँदेखि लडिरहेका केसीलाई केपी ओली नेतृत्वको सरकारले आलोचनासहित वेवास्ता गर्दै आएको छ ।
उनै केसीको समर्थनमा जुम्लाको सदरमुकाम खलंगामा आज अर्धनग्न जुलुस प्रदर्शन गरिएको छ । केसी अहिले जुम्लामा नै अनशन बसिरहेका छन् ।
डा. केसीको माग पूरा गर्नुपर्ने भन्दै कर्णालीका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प गर्दै डाक्टर र नर्स अनि कर्मचारीहरु डा. केसीको अनसन स्थल पुगेका छन् । डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने तयारी भएको थियो । तर प्रशासनले बस्न नदिएपछि पानी चुहिने कभर्ड हलमा उनको अनसन जारी छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (मसाल) को आज बसेको केन्द्रीय कार्यालयको बैठकले डा. गोविन्द के.सी.को अनसन र उनको स्वास्थ्य प्रति गम्भीर चिन्ता प्रकट गरेको छ । उनलाई जुन अवस्थामा गिरफ्तार गरियो र जुन अवस्थामा राखिएको छ, त्यो अत्यन्त गैरजिम्मेवार र अमानवीय कार्य भएको पार्टीले ठहर गरेको छ ।
यसैबीच, विभिन्न मागहरु राखेर अनशन बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले कर्णाली प्रदेशका अस्पताल बन्द गरेका छन् । नेपाल चिकित्सक संघले अनशनरत डा. केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी उपचार गर्न सरकारलाई चौबिस घण्टे अल्टिमेटम दिएको थियो ।
अहिलेसम्म पनि सरकारले कुनै सुनुवाइ नगरेको भन्दै डा. केसीको जीवन रक्षाको माग गर्दै अकस्मिक बाहेकका अन्य सबै सेवाहरु ठप्प पारेर चिकित्सकहरु सडकमा उत्रिएका छन् । गत शनिबारदेखि अनशनमा रहेका डा. केसीलाई कैदी बन्दी सरह कभर्डहलमा राखिएको भन्दै जुम्लाका चिकित्सकहरु कभर्डहल अगाडि धर्नामा उभिएका छन् । हातमा कालो पट्टी बाँधेर उनीहरु कभर्डहल पुगेका हुन् ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका अस्पतालहरुले आकस्मिक बाहेकका अन्य सबै सेवाहरु अनिश्चितकालका लागि ठप्प पारेको नेपाल चिकित्सक संघ कर्णाली शाखाका उपाध्यक्ष डा. प्रविण गिरीले बताए ।