अविरल वर्षापछिको पहिरोले जनजीवनमा प्रभावित
रोल्पा : सोमबार परेको अविरल वर्षाका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ ।
वर्षापछि आएको पहिरोका कारण जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ भने जिल्लाका भित्री सडकमा चल्ने यातायातका साधन आवतजावतमा समेत कठिनाइ हुँदै आएको छ ।
रोल्पा नगरपालिका–१० धवाङ सुनवाङमा रहेको एक विद्यालयको भवन पहिरोले पुरिँदा पठनपाठन प्रभावित भएको छ । गुरुदय आधारभूत विद्यालयका दुईवटा भवनमा पहिरोले असर पु¥याउँदा पठनपाठन प्रभावित भएको हो । दुईवटा भवनको सबै भागमा असर परेकाले सोमबार विद्यालय नै बन्द गरिएको बताइएको छ । विद्यालयका दुवै भवन क्षतिग्रस्त हुँदा पठनपाठनका लागि अन्य विकल्पसमेत नभएकाले विद्यालय बन्द गर्न बाध्य भएको विद्यालयले जनाएको छ । तुरुन्त उक्त भवन मर्मत नगरे वा मौसममा सुधार नआए विद्यालय अनिश्चितकालका लागि बन्द हुनसक्ने बताइएको छ ।
कक्षा १ देखि ३ सम्म पढाइ हुने उक्त विद्यालय भवनमा सोमबार बिहान पौने ११ बजे पहिरो खस्दा क्षति पुगेको स्थानीय शेरबहादुर थापाले जानकारी दिए । अविरल वर्षाकै कारण रोल्पा नगरपालिका–४ धाँसीखोला नजिक निर्माणाधीन सडकमा लगाइएको जालीसहित पहिरो खस्दा एक घरमा क्षति पुगेको छ । पहिरोका कारण रोल्पा नगरपालिका–४ का यज्ञविक्रम मल्लको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । पहिरोमा परी एक बाख्रा च्यापिएर मरेको भेटियो भने अन्य दुई बाख्रासमेत च्यापिएको हुनसक्ने स्थानीयले बताएका छन्, प्रहरी नायब उपरीक्षक फुयाँलले भने ।
साथै, अविरल वर्षाकै कारण दक्षिण रोल्पाको रुन्टीगढी–५ सैवाङमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा सुत्केरी महिलासहित तीन जनाको मृत्यु भएको छ भने अन्य स्थानमा भौतिक तथा आर्थिक क्षति भएको छ ।