कोशी कटान क्षेत्रमा भारतीय नम्बरको स्कारपिओ दुर्घटना, ६ जनाको मृत्यु
इनरुवा, १९ असार : भारतीय स्कार्पियो जीप दुर्घटना हुँदा सुनसरीमा ६ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बी आर ०६ पी बी ६४१८ नम्बरको स्कारपिओ जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीयाका ४० वर्षीय संजीव कुमार र सोही ठाउँका गोनु कुमारको मात्रै सनाखत हुन सकेको सुनसरी प्रहरीले उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार स्कारपिओ जिप अनियन्त्रित भएर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनास्थलमा मृत्यु भएका तर नाम नखुलेका तीनजनाको शव जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने उपचारका क्रममा मृत्यु भएकाको शव विराटनगरस्थित अस्पतालमै राखिएको छ ।