वर्षाको समयमा बाढी, पहिरो र डुबान नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण
काठमाडौँ : राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरुले वर्षाको समयमा पहाडमा पहिरो र तराई डुबानको समस्या हुने भएकाले समयमै सचेतना अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
विशेष सभामा भाग लिँदै सांसद सुमनराज प्याकुरेलले तराईका जिल्लामा विभिन्न नदीमा पानीको बहाव बढेर डुबानको खतरा बढेको भन्दै रोकथामका लागि समयमै तयारी गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । सांसद रामनारायण विडारीले भारतले नेपालको सिमानामा ठूल्ठूला बाध बाँधेका कारण तराईमा प्रत्येक वर्ष डुबानको समस्या हुने गरेको छ भने । सांसद जीतेन्द्र देवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ‘कनेक्टिभिटी’सँग जोडिएका योजनालाई कार्यान्वयनमा लाँदा गम्भीरता अपनाउन आग्रह गर्दै यस्ता परियोजना ऋणमा चलाउन नहुने सुझाव दिए ।
सांसद वृशेषचन्द्र लालले कैलाली निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका रेशमलाल चौधरीलाई निर्वाचन आयोगले निर्वाचित पदाधिकारीको प्रमाण दिनुपर्ने बताए । सांसद विमला राई पौडेलले मन्त्रालयस्तरका गाउँमा जाने बजेटलाई एकीकृत गर्नुपर्ने सुझाव दिए । सांसद बलराम बास्कोटाले एसइई परीक्षाको ग्रेडिङ प्रणालीमा देखिएको कमजोरी केलाउन आग्रह गरेका छन् । सांसद धनकुमारी खतिवडाले खोकना र बुङ्गमतीका बासिन्दाले अहिलेसम्म पुनःनिर्माणका लागि दिइने रु तीन लाख अनुदान नपाएको बताएका छन् ।
सांसद जीवन बुढाले वर्षाले दैलेख, कालीकोट र अछामका विद्यालयका छानो भप्काएको र बालीनाली नष्ट गरेको हुँदा त्यसक्षेत्रका जनताको समस्याप्रति ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।