Logo
३ मंसिर २०८१, सोमबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुरुयोजना सार्वजनिक : ७ हजार ९ सय किलोमिटर प्रसारण लाइन विस्तारको लक्ष्य

काठमाडौं १७ असार  : ऊर्जा जलस्रोत एंव सिँचाइ मन्त्री वर्षमान पुनले राष्ट्रिय प्रसारण लाइन विकास गुरुयोजना सार्वजनिक गरेका छन्। गुरु योजनामा २२० केभी क्षमताका २ हजार १ सय किलोमिटर र ५ हजार ८ सय किलोमिटर ४ सय केभी लाइन विस्तार गर्ने उल्लेख छ।

आइतबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गुरु योजनामा सन् २०४० सम्म ७ हजार ९ सय किलोमिटर प्रसारण लाइन विस्तारको लक्ष्य राखिएको छ।

यस्तै, १३२ केभी लाइन २ हजार ५ सय किलोमिटर विस्तार हुनेछ। प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न ३ खर्ब ७० अर्ब र २ अर्ब २७ करोड रुपैयाँ खर्च हुने अनुमान छ।

सन् २०४० सम्म ४२ वटा ४ सय केभी र ३८ वटा २२० केभी प्रसारण लाइन जोड्ने ठाउँ विकास गर्ने लक्ष्य गुरु योजनाले राखेको छ। लक्षित काम हुँदा उत्पादित विद्युत देशभित्रै सजिलै खपत हुने र बढी हुँदा निर्यात गर्ने वातावरण बन्ने अनुमान छ।

पूर्वदेखि पश्चिमसम्म ५ ठाउँमा ‘प्रसारण लाइन जोन’ निर्माण गर्न प्रस्ताव उक्त गुरु योजनामा गरिएको छ। महाकाली नदी, पश्चिम सेती र कर्णाली कोरिडोर जोन–१, भेरी नदी कोरिडोर जोन–२, कालीगण्डकी र मर्स्याङ्दी कोरिडोर जोन–३, त्रिशूली–चिलिमे, खिम्ती, तामाकोसी कोरिडोर जोन–४ र कोसी, अरुण र काबेली कोरिडोर जोन–५ को रूपमा विकास गर्नुपर्ने योजनामा उल्लेख छ।

सन् २०४० सम्म ३८ हजार मेगावाट विद्युत उत्पादन भई १८ हजार देशमै खपत हुने प्रक्षेपण छ। यस्तै, १६ हजार मेगावाट भारत तथा चीन निर्यात गर्न सकिने उल्लेख छ। करिब ३ हजार मेगावाट जगेडा राख्नुपर्ने आँकलन छ।

तराईबाट पूर्व–पश्चिम राजमार्ग तथा मध्यपहाडी राजमार्गको समानान्तर हुँदै ४ सय केभी प्रसारण लाइन निर्माणको योजना तयार गरेको छ।

उत्तर–दक्षिण नदी कोरिडोरमा ४ सय केभी लाइन निर्माणको प्रस्ताव गरिएको छ। नयाँ योजनामा सन् २०४० सम्म उत्पादित विद्युत प्रसारण, वितरण तथा खपतको योजनालाई अझ भरपर्दो बनाइएको दाबी छ।

अघिल्लो गुरुयोजनाले भारतीय सीमामा विद्युत आयात–निर्यात गर्न पहिचान गरेका ६ बिन्दु यथावत कायम राख्दै चीनतर्फ २ अन्तरदेशीय प्रसारण लाइन निर्माणको प्रस्ताव पनि गरेको छ।

उत्पादित अधिकांश विद्युत देशभित्रै खपत गर्ने लक्ष्यले गुरुयोजना ल्याइएको उर्जा मन्त्री पुनले बताएका हुन्। मन्त्रालयमा आयेजित एक कार्यक्रममासन् २०४० सम्म ९करिब २२ वर्ष० लाई लक्षित गर्दै तयार गरिएको उनले बताए।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले तयार गरेको गुरुयोजना करिब एक साताअघि नै उनले स्वीकृत गरेका थिए। कम्पनीले लामो समयदेखि गुरुयोजनाको काम गर्दै आए पनि पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हालेपछि कामले गति लिएको थियो।

मन्त्री पुनले बैशाख २५ गते ऊर्जा तथा जलस्रोतको वर्तमान अवस्था र भावी मार्ग्चित्र समेटिएको श्वेतपत्र जारी गर्दै कार्यान्वयनका लागि रोडम्याप तयार गर्न निर्देशन दिएका थिए। सरकारले भर्खरै जारी गरेको श्वेतपत्र कार्यान्वयनको आधारका रूपमा गुरुयोजना आएको मन्त्री पुनले बताएका छन्।

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्