Logo
३ मंसिर २०८१, सोमबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेरणा राज्यलक्ष्मीलाई दाइजोस्वरूप दिएको जग्गाको कम्पाउन्डमा सरकारले लगायो ताला

काठमाडौँ : तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गाको कम्पाउन्डमा बनेको घरको मूल गेटमा सरकारले ताला लगाएको छ । मंगलबार दिउँसो नेपाल ट्रस्टले वडा कार्यालय र नेपाल प्रहरीको रोहबरमा तालाबन्दी गरेको हो ।

ट्रष्टका कार्यकारी सचिव रमेश प्रसाद सिंहका अनुसार पटकपटक घर खाली गरिदिन ताकेता गर्दा पनि खाली नगरेपछि ताला लगाइएको हो । सिंहका अनुसार ट्रष्टले हालसम्म तीन पटक घरजग्गा खाली गर्नका लागि ताकेता गरेको थियो । पहिलो पटक २०७२ भदौ ६ गते ३५ दिन, दोस्रो पटक ०७३ फागुन ५ मा ३० दिने र पछिल्लो पटक २०७५ बैशाख ६ गते सात दिने म्याद दिएर पत्रचार गरिएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई दाइजो दिएको २ रोपनी १३ आना १ पैसा १ दाम जग्गा र त्यसमा बनेको घर नेपाल ट्रष्टमा गाभ्न २०६४ सालमा पुस १ गते सरकाले निर्णय गरेको थियो । ज्ञानेन्द्रले छोरीलाई दाइजो दिनुअघि उक्त घरजग्गा पूर्वराजा वीरन्द्रको नाममा थियो ।

सरकारको उक्त निर्णयबिरुद्ध प्रेरणाले सर्वोच्च अदालतमा त्यो जग्गा आफूले दाइजोमा पाएको र सरकारले आफूलाई थाहै नदिई गरेको निर्णय बदर गरिपाउँ भन्दै २०७१ माघ २५ मा उनले रिट दिएकी थिइन् । २०७३ साल पुस २१ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको इजलासले बिहीबार उनको सम्पत्ति सरकारी हुने निर्णय गरेको थियो ।  यसअघि पूर्वप्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर राणाले भने पूर्वराजा वीरेन्द्रको नामको जग्गा उनकै भाइ ज्ञानेन्द्रकी छोरीले दाइजो पाएका भन्दै उनैको नाममा हुने गरी फैसला गरेका थिए।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्