पानीसँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडक आज पनि अवरुद्ध
चितवन, १२ असार : पहिरो खस्दा नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो, जलबिरे तोपेखोलालगायतका स्थानमा आज पनि आवागमन अवरुद्ध बनेको छ । मंगलबार बिहान ५ः३० बजेतिर विभिन्न स्थानमा पहिरो खसपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो हटाउने काम शुरु गरिएको भए पनि ठूलो पहिरो आएका कारणले अझै केही घण्टा लाग्ने सक्ने चितवनका प्रहरी प्रवक्ता शिव शर्मा आचार्यले जानकारी दिए । केही दिनदेखि सो क्षेत्रमा परेको पानीसँगै आएको पहिरोले सडक अवरुद्ध हुँदै आएको छ ।
विशेष गरी चारकिलो भन्ने स्थानमा अत्यधिक मात्रामा पहिरो झर्ने गरेको छ । सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनाल चारकिलोमा पहिरो रोक्ने कुनै उपाय नभएको बताउँछन् । अन्यत्र स्थानमा पहिरो रोक्न गरिएका उपायहरु प्रभावकारी भएको उनको दावी छ । पहिरोका कारण दैनिकजसो सवारी आवागमन प्रभावित भएको छ ।