योगले सकारात्मक ज्ञान र सोचको विकास हुन्छ : प्रमुख कायस्थ
धनुषा : नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र यसका लागि योग महत्वपूर्ण हुने प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् ।
चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा जनकपुरको जानकी मन्दिरमा बिहिबार आयोजित योग अभ्यास कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले योगका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्य लाभसमेत लिन सकिने र योगले सकारात्मक सोचको विकास हुनुका साथै आत्म ज्ञानकोसमेत प्राप्ति हुनेहुँदा मानव जीवनमा योग अत्यन्तै लाभकारी रहेको विचार व्यक्त गरेका छन् ।
सो योग कार्यक्रममा प्रदेश नं २ प्रदेश प्रमुख, मुख्यमन्त्री, भारतीय महावाणिज्य दूतावासका कन्सुलर तथा योगगुरु , साधक साधिकालेसमेत योग गरेका थिए । सो कार्यक्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री राउत, योगगुरुसहितलाई मायाको चिनोका साथै दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।