Logo
२ माघ २०८१, बुधबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुशासन र विकासको यात्रामा अगाडि बढ्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तन संस्थागत भइसकेको हुँदा अब सुशासन र विकासको यात्रामा अगाडि बढ्न आग्रह गरेका छन् ।

‘स्थानीय निकाय, प्रदेश तथा संघको निर्वाचन सम्पन्न भई नयाँ राजनीतिक यात्रामा देश अगाडि बढिरहेको छ, अब सबै मिलेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न म आग्रह गर्छु ।’ उनले भने । नेपाल जग्गा तथा आवास विकास संघद्वारा आयोजित सातौँ घर जग्गा मेला (प्रोपर्टी एक्स्पो) शुक्रबार भृकुटीमण्डपमा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि सरकारले सबैसित मिलेर काम गर्न चाहेको बताए ।

उनले असुरक्षित बस्ती तथा आवास हटाई शिक्षा, स्वास्थ्य, खानेपानी सबैको सुविधा भएको गाउँ तथा शहर निर्माणमा सरकारले ध्यान दिएको चर्चा गर्दै पुष्पलाल राजमार्ग तथा हुलाकी राजमार्गलगायतका राजमार्गमा विभिन्न स्थानमा शहरको विकास गर्न लागेकाले यसमा सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘कछुवाको गतिमा रहेको जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी छ, खेतीयोग्य उर्वर जमिनलाई मासेर घर बनाउने कार्यलाई निरुत्साहित गर्नुपर्छ ।’

पाँचदिने सो प्रदर्शनीमा जग्गा तथा आवाससित सम्बन्धित घर तथा अपार्टमेन्ट, जग्गा योजना, विकास निर्माण सामग्रीका साथै भूकम्प प्रतिरोधी घर, विद्युतीय सामग्री, फर्निचर, पाइप, सजावटका सामान राखिनुका साथै बैंकिङ सेवा पनि उपलब्ध छन् ।

 

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्