अप्रिय हल्लाबीच डा. उपेन्द्र देवकोटाको अवस्थामा सुधार (विज्ञप्ति सहित)
काठमाडौं, २६ जेठ : प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा केही सुधार आएको छ । देवकोटालाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । डा. देवकोटालाई शुक्रबार राति भेन्टिलेटरबाट बाहिर निकालिएको न्यूरो अस्पतालले जानकारी दिएको छ । तर डा. देवकोटालाई अहिले पनि सघन उपचार कक्ष, आइसियुमा राखिएको न्यूरो अस्पतालका प्रमुख कार्यकारी अधिकृत वसन्त देवकोटाले बताए ।
डा. देवकोटाका बारेमा बाहिर आएका कुरा सबै हल्ला रहेको र उनको उपचार भइरहेको सिइओ वसन्त देवकोटाले जानकारी दिए । डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।
उनको अवस्थाका बारेमा विभिन्न हल्लाहरु भइरहेका बेला शनिबार बिहान उनले उपचार गराइरहेको न्यूरो अस्पतालमा धेरै शुभचिन्तक जम्मा भएका थिए । बिहान डा. देवकोटालाई आधा घण्टा जति बाहिर ल्याएर समर्थकको अगाडि राखिएको थियो ।
उपचारमा संलग्न डाक्टरले स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन् । यस्तै परिवारले नचाहिने हल्ला फैलाएकोमा गम्भीर आपत्ति जनाएको छ । हिजो साँझ अस्थिर बनेको देवकोटाको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पताल प्रसाशनले जानकारी दिएको छ । देवकोटाको बाँसबासीस्थित न्युरो अस्पतालको आईसीयुमा राखिएको छ ।
गएराति उनीबारे सामाजिक सञ्जालमा अप्रिय हल्ला फैलिएको थियो । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको न्युरो अस्पतालमा उपचार भइरहेको चिकित्सकले बताएका छन् ।चिकित्सकका अनुसार देवकोटालाई बेलाबेलामा रोगले च्याप्ने र बेलाबेलामा ठीक भए जस्तो हुने गरेको छ ।
क्यान्सरबाट पीडित डा. देवकोटा वेलायतस्थित किग्स कलेजमा केही समय उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए । देवकोटाको स्वास्थ्य अवस्थाबारे अफवाह फैलिएपछि परिवारले चिन्ता व्यक्त गरेको छ । अस्पताल प्रशासन र डा. देवकोटाको परिवारले एक विज्ञप्ति जारी गर्दै अस्पतालबाट जारी गरिने आधिकारीक जानकारी बाहेक अन्य सूचनालाई विश्वास नगर्न सबैमा आग्रह गरिएको छ ।
‘प्रोफेसर डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थितीको बारेमा गम्भीर चासो व्यक्त गर्दै विभिन्न क्षेत्रबाट भइरहेको चासो र उहाँको स्वास्थ्यलाभको कामना गर्दै मान्यजन इष्टमित्र तथा शुभ चिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं ।’ विज्ञप्तिमा लेखिएको छ, ‘उहाँको स्वास्थ्य स्थिति गम्भीर र सघन उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषित खबरहरु सत्य नरहेको व्यहोर अनुरोध गर्दछु ।’
यसैबीच देवकोटालाई आज बिहान अस्पताल परिसरमा ल्याइएको थियो । देवकोटाले दूध र जुस पिएका छन् । देवकोटाको पित्तथैलीको क्यान्सर सम्बन्धी उपचार भइरहेको छ ।