चीन भ्रमणबारे प्रधानमन्त्रीको अन्तिम तयारी : रेलमार्ग पहिलो प्राथमिकतामा
काठमाण्डौ, २१ जेठ : असार पाँच गते चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीच रसुवागढी-काठमाडौं रेलको सम्भाव्यता अध्ययन गर्ने समझदारी हुने सम्भावना देखिएको छ ।
यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ चैत १४ मा ओलीले चीनसँग व्यापार तथा पारवहन सम्झौतालगायत १० बुँदे सहमति गरेका थिए ।
तर, सम्झौता कार्यान्वयन हुन सकेको छैन । अहिले पुनः चीन भ्रमणका क्रममा रेलमार्गलाई प्राथमिकतामा राखिएको हो । अहिले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलको पूर्व सम्भाव्यता अध्ययन भइरहेको छ ।
पहिलो पटक प्रधानमन्त्री भएदेखि नै नेपालमा रेलमार्ग बनाउने सपना देखाएका प्रधानमन्त्री ओलीले सबैजसो सार्वजनिक कार्यक्रममा रेलको कुरा गर्ने गरेका छन् ।
चिनियाँ पक्ष पनि काठमाडौंलाई रेलमार्गले जोड्ने नेपालको प्रस्तावमा निकै सकारात्मक देखिएको छ । नेपालको नजिकै रहेको तिब्बतसम्म चीनले रेल ल्याइसकेको छ ।
हिमाली भागमा पनि रेल गुडाएको चीनसँग अनुभव छ । तर, यसरी दुईवटा प्लेटबीच हुँदै गुड्ने रेल बनाएको छैन । जे होस्, ओलीको चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्गको एजेण्डाले प्राथमिकता पाउने भएको छ ।
गत कात्तिकमा चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री चेङ जियान नेतृत्वमा आएको २३ सदस्यीय टोलीले स्थलगत अध्ययन गरेर गएको थियो ।
यसपछि हालैमात्रै चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्यूटबाट आएको चिनियाँ प्राविधिकको टोलीले फिल्डमै पुगेर अध्ययन गरेर फर्किएको छ ।