Logo
१३ मंसिर २०८१, बिहीबार
(June 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धार्मिक तथा पर्यटकीयस्थल मोदीबेनी धाममा खानेपानी आयोजना सम्पन्न

फलेवास : धार्मिक तथा पर्यटकीयस्थल मोदीबेनी दिव्यधामको खानेपानी आयोजनाको स्वामित्व उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

नेपाल सरकार र उपभोक्ता समितिको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको आयोजनाको स्वामित्व शनिबार एक कार्यक्रमको आयोजना गरी मोदीबेनी खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख दीपक शेरचनले मोदीबेनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष केशवदास बैरागीलाई हस्तान्तरण गरेका हुन् ।

आर्थिक वर्ष २०७३÷७४ मा सरकारको रु ९३ लाख ६० हजार ५१८ र उपभोक्ता समितिको रु ११ लाख चार हजार ६३१ को श्रमदानमार्फत निर्माण भएको आयोजनाले मोदीबेनी दिव्यधाममा खानेपानीको चरम समस्या समाधान भएको छ । मल्याङ्दीखोलामा मुहान रहेको आयोजनाका २० हजार लिटरका दुई वटा ट्यांकी बनाइएको छ ।

खानेपानी आयोजनाअन्तर्गत मोदीबेनीमा १०८ धारासहित पाँच वटा खानेपानीका धारा, बागलुङ नगरपालिका–१४ मा पाँच हजार लिटर क्षमताको एउटा ट्यांकी, फलेवास नगरपालिका–४ मा चार हजार लिटर क्षमताको एउटा ट्यांकी र समुदायका लागि चार हजार लिटरको ट्यांकी बनाएर खानेपानीको सुविधा पु¥याइएको छ ।

खानेपानी तथा सफाइ डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले मोदीबेनी यस क्षेत्रकै धार्मिक गन्तव्य रहेको र प्रदेश ४ कै पर्यटकीयस्थल रहेका कारण खानेपानीको समस्या समाधान गर्न कार्यालयले बढी जोड दिएर काम गरेको बताए ।
मोदीबेनी प्रमुख धार्मिकस्थल र सामूहिक घाट पनि हो । मोदीबेनीमा वृद्धाश्रम पनि छ । नृसिंह मन्दिर पनि यहाँ रहेको छ । त्यहाँ पुग्ने धार्मिक पर्यटक तथा सर्वसाधारणले खानेपानीको सुविधा नहुँदा सास्ती पाउनुपरेको थियो । आयोजना सञ्चालन भएपछि अहिले खानेपानीको समस्या समाधान भएको नृसिंह मन्दिर संरक्षण समितिका अध्यक्ष गोपालदास वैरागीले बताए ।

पोहोरसम्म मोदी र कालीगण्डकीको फोहोर पानी छानेर प्रयोग गर्नुपर्ने अवस्था थियो, बैरागीले भने, “अहिले खानेपानीको समस्या समाधान भयो ।”

प्रकाशित मिति: Jun 3, 2018

प्रतिक्रिया दिनुहोस्