Logo
११ मंसिर २०८१, मंगलबार
(June 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामबाबुको मृत्युबारे विदेशी मिडियामा चर्चा : युक्रेनी आरोहीले गाइडको हत्या गरेको आशंका

काठमाडौं, १८ जेठ : वैशाख ३१ गते युक्रेनी आरोहण टोलीसहित सगरमाथा आरोहण गरी शिखरबाट फर्कने क्रममा बेपत्ता भएका पर्वतारोहण गाइड लामबाबु शेर्पाको हत्या भएको दाबी उनको परिवारले गरेको छ। अवैध डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) को हार्डडिस्क सगरमाथा शिखरमा गाडेर गरिएको प्रचारको रहस्य खुल्ने डरले आरोहण दलका सदस्यबाटै हत्या भएको आशंका उनका परिवारले गरेका छन्। उनको परिवारले सरकारसँग घटना अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नसमेत माग गरेका छन्।

डिजिटल मुद्रा प्रचारका क्रममा शिखरको हिउँमा ५ लाख आस्क (एएसके क्वाइन) मुद्रा गाडेको र साहसी व्यक्तिले शिखर आरोहण गरी लिन सक्ने घोषणासमेत ती युक्रेनी आरोहीले भिडियोमार्फत गरेका थिए। आरोहण सहयोगी शेर्पाले सबै जानकारी पाएकाले नै उनको हत्या गरी तिब्बततर्फ फ्याँकेको हुनसक्ने लामबाबुका भतिजा सेर्कु शेर्पाको भनाइ छ। ‘४ युक्रेनी आरोहीलाई शिखर पुर्याेएर फर्कने क्रममा भएको लामबाबुको रहस्यमय मृत्युसम्बन्धमा यथार्थ छानबिन गरी दोषीउपर कारवाही गरिनुपर्छ’, उनले भने, ‘लामबाबुको मृत्युबारे हामीले जे जति जानकारी पायौं, त्यसले हामीलाई सशंकित बनाएको हो।’

बेलायती दैनिक द फाइनान्सियल टाइन्सले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै युक्रेनी आरोही तारास पोज्नीले शिखरमा लामबाबुलाई देखेको र फर्कंदा उनी पछि रहेको उल्लेख गरेको छ। युक्रेनको एउटा अनलाइनमा भने लामबाबु शिखरमा नपुगेको, चार जना मात्र शिखरमा पुगेको उल्लेख गरिएको छ। तर विभिन्न अनलाइनमा अपलोड गरिएका युक्रेनी आरोहीको भिडियोमा सबैजना देखिएकाले उक्त भिडियो लामबाबुले नै खिचेको हुनसक्ने आशंका परिवारको छ।

डिजिटल मुद्रा आस्क क्वाइन लुकाएको ठाउँको भिडियोसमेत उनले खिचेको हुनसक्ने अनुमान परिवारले गरेको छ। ‘आस्क क्वाइनको प्रचार गर्दा फेला पार्नेलाई पुरस्कार दिने घोषणा गर्नुले र लामबाबुले लुकाएको ठाउँ थाहा पाएकाले उनको हत्या भएको आशंका छ’, मृतकका भतिजा सेर्कुले भने।

सगरमाथा शिखर र ८ हजार ८ सय २० मिटर आसपासको साउथ समिटकाे बीचमा लामबाबुले बोकेको झोला र एउटा क्राम्पोन फेला परेको छ। परिवारले लामबाबु बेपत्ता भएको ठाउँमा ती सामान उनको भए-नभएको र घटनाबारे बुझ्न अर्को आरोहण दलमा रहेका एक शेर्पासँग आग्रह गरेका थिए। परिवारले ती शेर्पाको भनाइ उद्धृत गर्दै लामबाबु बेपत्ता भए भनिएको ठाउँ, झोला र क्राम्पोन हेर्दा चिप्लिएर लड्ने, आइसब्लाइन्ड हुने जस्ता कुराको कुनै आधार नदेखिएको बतायो। लामबाबुका जेठा छोरा जाङबूले आफ्ना बाबुको मृत्युबारे युक्रेनी आरोहीसँग कुराकानी गरेका थिए। ‘उनीहरुसँग बुझ्दा आफ्नो अक्सिजन सिलिन्डर फेरिदिएर पछि बसेकाले अरू केही थाहा नभएको बताए’, उनले भने, ‘झोला सुरक्षित राखेर सिलिन्डर फेरे पनि आरोहणमा रहेको व्यक्ति डोरीभन्दा बाहिर जान सक्दैन तर विवरणअनुसार मेरा बाबु डोरी बाहिर थिए।’

खुला र सुरक्षित अवस्थामा डोरीमा झोला भेटिनु, झोलानजिक एउटा मात्र क्राम्पोन भेटिनुले लामबाबु चिप्लिएर खसेको भनाइमा विश्वास गर्ने कुनै आधार नभएको भतिजा सेर्कूको तर्क छ। शरीरमा डोरी बाँधिने भएकाले झोलामात्र सुरक्षित भेटिने सम्भावना नरहने आरोहणमा जाने शेर्पाहरू बताउँछन्। कोस्मा ट्रेकमा काम गर्दै आएका लामबाबु यसै वर्ष सेभेन समिट ट्रेकमा संलग्न भएका थिए।

पर्यटन विभागका प्रवक्ता रामप्रसाद सापकोटाले भने लामबाबुको मृत्युसम्बन्धमा उजुरी नपरेकाले यसबारे आधिकारिक जानकारी नभएको बताए। उनले भने, ‘मृत्युबारे अहिले केही बताउन सकिँदैन।’ घटनाबारे युक्रेनी आरोहण दलका सम्पर्क अधिकृत योगेश अर्यालले यससम्बन्धमा आफूले जानकारी दिन नमिल्ने र पर्यटन विभागका प्रवक्तासँग जानकारी लिन भन्दै केही बताएनन्। सम्पर्क अधिकृतले बेवास्ता गर्नु र घटनापश्चात आयोजक कम्पनीले परिवारलाई कुनै जानकारी नदिनुले घटना अझै शंकास्पद भएको भन्दै मृतकका परिवारका सदस्य अदालत जाने तयारीमा जुटेका छन्।

सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका-९ कुरिमाका ४५ बर्से लामबाबु यसअघि ४ पटक सगरमाथको सफल आरोहण गरिसकेका थिए। उनी ७ पल्ट सगरमाथा आरोहणमा गएका थिए भने एकपल्ट मनास्लुको आरोहण गरिसकेका थिए। वैशाख ३१ गते लामबाबु बेपत्ता भए पनि अहिलेसम्म परिवारलाई घटनाको यथार्थ जानकारी दिइएको छैन। लामबाबुको बेपत्ताबारे युक्रेनी दलको सगरमाथा आरोहणको आयोजक सेभेन समिट ट्रेक प्रालिका प्रबन्ध निर्देशक मिङमा शेर्पाले शिखरमा भएको घटनाबारे आफूले अहिले केही जानकारी नपाएको बताए। उनले भने, ‘चुचुरोमा के भयो थाहा छैन, यसबारे बुझेर जानकारी गराउँछौं।’

लामबाबुको मृत्युबारे विदेशी मिडियामा चर्चा

आस्कएफएमले आफ्नो डिजिटल मुद्रा आस्क क्वाइनको आईसीओ (इनिसियल क्वाइन अफरिङ)को प्रचार प्रपोगाण्डाका लागि प्रायोजन गरेको सगरमाथा आरोहणमा आरोही गाइड लामबाबु शेर्पाको शंकास्पद मृत्यु भएको समाचार अहिले विश्वभर चर्चामा छ। लामबाबुको शंकास्पद मृत्यु भएको समाचार सबैभन्दा पहिले बेलायतको प्रसिद्ध दैनिक द फाइनान्सियल टाइम्सले प्रकाशित गरेको थियो। त्यसपछि उसलाई उद्धृत गर्दै न्युयोर्क पोस्ट, द गार्डियन लगायत विभिन्न अखबार र अनलाइनले समाचारलाई प्रमुखताका साथ प्रकाशित गरे।

द फाइनान्सियल टाइम्सले डिजिटल मुद्राको प्रचार गर्नकै लागि सगरमाथा आरोहणका क्रममा भएको लामबाबुको मृत्यु शंकास्पद भएको उल्लेख गरेको छ।बेलायती अखबार द फाइनान्सियल टाइम्सले मे २५ (जेठ गते) को डेटलाइनमा ‘अ क्रिप्टो स्टन्ट गोन ट्राजिकली रङ’ शीर्षकमा डिजिटल मुद्रासम्बन्धी घोटालामा मारिनेलाई डिजिटल मुद्रा उद्योगका अत्याचारले सजिलै छायामा पार्ने गरेको उल्लेख गरेको छ। फाइनान्सियल टाइम्समा जेमिमा केली र एलेक्जान्ड्रा स्क्याग्स लेख्छन्, ‘तर यो महिना त अत्याचारले सीमा नै नाघ्यो, जब यससम्बन्धी एउटा स्वघोषित पब्लिसिटी स्टन्टले एकजना मानिसको मृत्यु भयो।’

उनीहरू अगाडि लेख्छन्, ‘यसै साताको सुरुमा हामीले युक्रेनस्थित सामाजिक सञ्जाल आस्कएफएमबाट एउटा विज्ञप्ति पाएका थियौं। विज्ञप्तिमा उसले आईसीओ (इनिसियल क्वाइन अफरिङ) का लागि चार जना युक्रेनी क्रिप्टो एन्थुसियास्टलाई सगरमाथा आरोहणको प्रायोजन गरेको र शिखरमा क्रिप्टोकरेन्सीसहितको हार्ड ड्राइभ गाड्न लगाएको उल्लेख थियो। साथै आरोहणमा समस्या आएका, सबैलाई पुग्ने अतिरिक्त अक्सिजन नहुँदा दुई आरोही ७ हजार मिटरमाथि अड्किएको, अत्यधिक खराब मौसमले ओर्लन नसक्दा हेलिकप्टरबाट उद्धार गर्नु परेको पनि उल्लेख थियो। अहिले दुवै जना सुरक्षित छन् र उनीहरूको उपचार भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।’

फाइनान्सियल अगाडि टाइम्स लेख्छ, ‘प्रख्यात जापानी आरोही नोबुकाजु कुरिकीको सगरमाथा आरोहणको आठौं प्रयासमा मृत्यु भएको समाचारको केही घण्टापछि आएको विज्ञप्ति निकै विवादास्पद थियो। यो यसवर्ष मेमा सगरमाथा आरोहणम भएको तेस्रो मृत्यु थियो। आस्कएफएमको विज्ञप्तिभन्दा पनि बढी विवादास्पद उसले मे १७ मा राखेको प्रोमोसनल भिडियो थियो, जसले क्रिप्टो एन्थुसियास्टहरूलाई उनीहरूसँग आँट भए सगरमाथा आरोहण गरी शिखरमा गाडेको डिजिटल टोकन खोज्न चुनौती दिएको छ।

विश्वास गर्नुस् यो भिडियोले स्थिति अझ बिगार्‍यो। किनभने डिजिटल मुद्राको संसारमा यस्ता प्रदर्शनले धोका दिन सक्छ। हामीले कोलोर्‍याडोका एलन आर्नेटको ब्लगसँग भिडाएर कम्पनीको भनाइबारे छानबिन गर्‍यौं। आर्नेट वशन्त ऋतुमा हुने सगरमाथा आरोहणबारे बर्सेनि नियमित रिपोर्टिङ गर्छन्।

हामी आश्चर्यचकित भयौं, आर्नेटले आफ्नो ब्लगमा ‘प्रेभेन्टेबल डेथ’ उपशीर्षकमा त्यस दिन एउटा युक्रेनी टोलीले मात्र सगरमाथा आरोहण गरेको उल्लेख गरेका थिए- युक्रेनी टोलीका एक नेपाली स्थानीय गाइड लामबाबु शेर्पा उक्त जोखिमपूर्ण आरोहण क्रममा मरे। यसअघि निकैपल्ट सगरमाथाको सफल आरोहण गरिसकेका निकै अनुभवी आरोही हुँदाहुँदै पनि यसरी उनको मृत्यु हुनु अस्वाभाविक थियो। नेपालको पर्यटन मन्त्रालयका एक अधिकारीले आफूले ती गाइडलाई स्नो ब्लाइन्सनेस भएको सुनेको हामीलाई बताए। स्नो ब्लाइन्डनेस एउटा पीडादायी अवस्था हो, जतिबेला हिउँमा ठोक्किएर फर्केको घामको पराबैजनी किरणले अस्थायी रूपमा दृष्टिविहीन बनाउँछ।

यसपछि जेमिमा र एलेक्जान्ड्रा लेख्छन्, ‘यो कुरा निश्चित गर्न हामीले सगरमाथा आरोहण टोलीका चार जनामध्ये नेपालबाट युक्रेन फर्किसकेका आरोही तारास पोज्नीसँग कुराकानी गर्‍यौं। उनले शिखरमा पुगिसकेपछि आफूहरूले लामबाबुलाई नदेखेको बताए। साथै उनले टुटुफुटेको अंग्रेजीमा लामबाबुको मृत्यु कसरी भयो आफूलाई थाहा नभएको बताए। तारासले भने, ‘शिखरमा मौसम अत्यन्त खराब थियो र त्यसपछि हामी तल फर्कंदै थियौं। हामी ७९ सय मिटर उचाइस्थित चौथो शिविरमा ओर्लंदै थियो र एक जना शेर्पाको मृत्यु हुँदै थियो, हामीलाई त्यतिमात्र थाहा छ। मेरो शेर्पा आउँदै थियो। मैले देखेको अन्तिम कुरा डिमाको शेर्पा शिखरमा उभिएको थियो। शेर्पा (लामबाबु) हामीभन्दा पछाडि थियो, त्यसैले उसलाई के भयो हामीलाई थाहा छैन। हामी छिटोछिटो तल ओर्लंदै थियौं र ऊ हामीसँग आएको थिएन। ऊ हामीभन्दा पछि थियो त्यसैले हामीले उसलाई देखेनौं।’

तारासले डिमा भनेर उल्लेख गरेका टोलीका अर्का आरोही डिमित्री सेमरेन्को हुन्। आरोहण टोलीमा रोमन गोरोडिच्नी र इरिना गाले पनि थिए। सन् २०१६ मा सगरमाथा आरोहण गर्ने पहिलो युक्रेनी महिला इरिनाले प्रोमो भिडियोमा देखिए पनि यसपल्ट सगरमाथा आरोहण गरिनन्। तर यो जानकारी भने कम्पनीको प्रोमोमा उल्लेख गरिएको थिएन। प्रायोजक आस्कएफएमले हामीलाई आरोहणमा चार जना शेर्पा सहभागी हुने बताएको थियो, एकजना आरोहीसँग एकजना शेर्पा जुन कुरा तारासले पनि हामीसँग फोनवार्तामा स्वीकारेका थिए।

तर जब हामीले कम्पनीसँग लामबाबुको मृत्युबारे सोध्यौं, प्रमुख कार्यकारी अधिकृत म्याक्स त्सारियाकले भने, ‘आरोहण टोलीको प्रायोजन आस्कएफएमले प्रायोजन गरेको आरोहण टोलीलाई सय जनाभन्दा धेरै शेर्पा सहयोगी थिए। हामीले प्रायोजन गरेको टोलीको आरोहणको एउटा हिस्सामा सघाउने एक जना शेर्पा पछि बेपत्ता भएको जानकारी हामीले पाएका छौं। हामीले पाएको पछिल्लो औपचारिक जानकारीअनुसार बेपत्ता शेर्पाको स्थिति अज्ञात नै रहेको र यसको विवरण सार्वजनिक गर्ने यो उपयुक्त होइन।’

फाइनान्सियल टाइम्सका अनुसार युक्रेनी आरोहण दलका तारास पोज्नीले शिखर र चौथो शिविरबीच लामबाबु बेपत्ता भएको बताएकाले उनले युक्रेनी आरोहीबाहेक अन्य आरोहीलाई सघाएको कम्पनीका प्रमुख कार्यकारी म्याक्सको भनाइसँग मिल्दैन। आस्कएफएमले अन्य धेरै शेर्पाले उनीहरूको आरोहण टोलीलाई सघाएको विवादास्पद दाबी गरेको पनि टाइम्सले उल्लेख गरेको छ। उता आर्नेटले पनि अनुभवी लामबाबुको स्नो ब्लाइन्डनेसबाट मृत्यु भएको पत्याउन नसकिने उल्लेख गरेका छन्।

आस्कएफएम (एसकेएफएम) के हो ?

सगरमाथा शिखर आरोहणमा गएको युक्रेनी टोलीको खास प्रायोजक आस्कएफएम हो जुन एउटा सामाजिक सञ्जाल हो। यो सन् २०१० मा दुई लात्भियाली दाजुभाई इल्या र मार्क टेरेबिनले स्थापना गरेका थिए। सुरुमा अज्ञात रहेर नै अपरिचितमाझ प्रश्नोत्तर गर्न स्थापित यो सञ्जालको स्वामित्व आईएसी (इन्टरएक्टिभ कर्पोरेसन) हुँदै अहिले अमेरिकाको क्यालिफोर्नियास्थित सम्पत्ति व्यवस्थापन समूह नुस्फेयर भेन्चर्ससँग छ।

सन् २०१३ को मध्यतिर यो सञ्जालबारे विश्वभरका सञ्चारमाध्यममा आलोचना भएको थियो। सञ्जालमा भएका अत्यधिक साइबर बुलिइङबाट कतिपयले आत्महत्या गरेको भन्दै विवादित भएको थियो। सन् २०१३ अगस्ट २ मा बेलायतको लिसेस्टरसायरमा १४ वर्षीया किशोरीले गरेको आत्महत्यामा आस्कएफएम मुछिएको बेलायती सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको थियो। यस्ता धेरै मामिलामा यो सामाजिक सञ्जाल विवादमा पर्दै आएको छ भन्दै अन्नप्र्ण पोष्टमा खबर छ ।

सन् २०१४ मा बीबीसीले यो सामाजिक सञ्जाललाई इराकको मुस्लिम कट्टरपन्थी लडाकु समूह आईएसले लडाकु भर्ती र सुझाव लिन प्रयोग गरेको खुलासा गरेको थियो। यो सञ्जाल सबै देशका सुरक्षा निकायका लागि टाउको दुखाइ बनेको सञ्चारमाध्यम र सुरक्षाविद्हरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति: Jun 1, 2018

प्रतिक्रिया दिनुहोस्