तस्करीमा प्रहरी र ठूला नेताकै मिलेमतो रहेको ‘गोरे’को बयान, पूर्पक्षका लागि जेल चलान
विराटनगर । ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त भनिएका ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ । उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको हो । चार दिन लामो बन्द इजलासमा भएको बयानपछि आइतवार नै थुनछेक बहस भएको थियो ।
जिल्ला न्यायाधिवक्ता पुण्य पाठकले सरकारको पक्षमा र गोरेका पक्षमा वकिल यमबहादुर मगरले बहस गरेका थिए । सुन प्रकरण र हत्याको अभियोगमा जिल्ला अदालत मोरङले बहालवाला एसएसपी सहित २८ जनालाई पूर्पक्षका लागि यसअघि नै थुनामा पठाइसकेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको विराटनगरबाट रोशनी भट्टराईले अभियानका लागि लेखेकी छिन् ।
यसैबीच तस्करीको साढे ३३ केजी सुन गायब भएपछि ज्यान गुमाएका उर्लाबारीका सनम शाक्यको हत्या आफूले नगरेको मुख्य अभियुक्त गोरेले दाबी गरेका छन् । बयानका क्रममा उनले आफूले सामान्य केरकार गर्न मात्रै भनेको दाबी गरेका हुन् । उनले भने ‘आफू नभएको मौका पारेर सनम लगायतलाई लाक्पा, टेकबहादुर र सुरेन्द्रले कुटपिट गरेको उल्लेख गरेका छन् । ‘मैले करेण्ट लगाउन निर्देशन दिएको होइन् । टेकबहादुर र सनमबीच मनमुटाव भएकाले उसैले करेण्ट लगाएको हो ।’
तस्करीमा आफ्नो संलग्नता स्वीकार
यसैबीच गोरेले सुुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेका छन् । तर, आफू नाइके नभएको उनको दाबी छ । जिल्ला अदालत मोरङमा दिएको ३७ पृष्ठ लामो बयानमा उनले सुन तस्करीबारे धेरै कुरा खोलेका छन् । गोरेका अनुसार तस्करीको सुन भारतमा जान्थ्यो र लगानीकर्ता पनि भारतीय नै हुन् ।
धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतले पनि सुनमा लगानी गरेको र नेपालमा तस्करीको धन्दा चलाउने छिरिङ वालेङ घले भएको उनको बयान छ । आफूले भरियाहरुको सेटिङ मिलाउने गरेको भन्दै गोरेले छिरिङकै लाइनमा बसेर सुन ओसार पसारको कारोबार गर्ने आफू सामान्य मानिस मात्र भएको बयान दिएका छन् । छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान छ ।
‘सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मानिसको मिलेमतोमा हुने गर्छ । को को संलग्न छन् यकिन भन्न नसक्ने उनको बयान छ । बयानका क्रममा गोरेले ३८ क्वीण्टल सुन तस्करीमा नेपाल प्रहरीका बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीको प्रत्यक्ष संलग्नता देखिएको बताएका छन् । गोरेले अदालतमै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउन खत्रीको मूख्य भूमिका रहेको बयान दिएका हुन् ।
यसैबीच सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ सनम हत्यापछि भारत गएको खुलेको छ । बयानमा गोरेले सनमको हत्यापछि शव व्यवस्थापन गर्न प्रहरीसँग २ करोडको डिल भएको तर, प्रहरीमाथि भर नलागेपछि भागेर कलकता पुगेको पनि बताएका छन् ।