निपा भाइरसको उच्च जोखिम : नर्ससहित ११ को मृत्यु
काठमाडौं, ११ जेठ : छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित ११ जनाको ज्यान लिइसकेको छ। नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा छ तर यहाँ यो रोग भित्रिन नदिन तथा भित्रिइहालेमा नियन्त्रण गर्न कुनै पूर्वतयारी छैन। निपा भाइरस सार्नसक्ने ‘टेरोपस’ प्रजातिको चमेरो नेपालमा पनि भएको औंल्याउँदै विश्व स्वास्थ्य संगठनले भारत, बंगलादेशसहित नेपाललाई पनि यो रोगको जोखिम भएका देशको सूचीमा राखेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावलले निपाको संक्रमण भित्रिएमा नियन्त्रण र उपचार निकै कठिन हुने बताइन्। ‘धरातल जे छ, त्यही भन्नुप-यो। निपा संक्रमण भित्रिए त्यसलाई नियन्त्रण र रोगीको उपचार गर्ने क्षमता अहिले हामीसँग छैन’, डा. रावलले भनिन्। चमेरोबाट मान्छेमा सरेपछि मान्छेबाट मान्छेमा सर्ने भएकोले यो रोग अत्यन्तै जोखिमयुक्त मानिन्छ। त्यसमा पनि भाइरस संक्रमण भएको २४ देखि ४८ घण्टाभित्रै बिरामीको अवस्था जटिल बन्छ। त्यसैले उच्चतहको परीक्षण क्षमता नहुने हो भने रोगले धेरैको ज्यान लिन सक्छ।
महामारी नियन्त्रणका लागि काम गर्ने सरकारी निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सिन्चुरीले यस्ता डरलाग्दा रोगसँग जुध्न सरकारी अस्पतालमै आइसोलेसन वार्ड, भेन्टिलेटर, आइसियु र छुट्टै तथा सुविधासम्पन्न एम्बुलेन्स नभएको स्वीकार गरे। ‘उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्टसम्म छ’, सिन्चुरीले भने।
इबोला भाइरस संक्रमणका बेला सशस्त्र प्रहरीको अस्पतालमा आइसोलेसन कक्ष बनाइएको भन्ने सुनेको बताउँदै उनले भने, ‘केही दिनमै त्यसको निरीक्षण गर्छौं। कति बेड छ, तलिमप्राप्त र विशेषज्ञ जनशक्ति छन् कि छैनन् भन्ने पनि हेर्नुपर्छ।’ शुक्रराज अस्पतालमा कडा खालका सिजन फ्लुका बिरामीलाई आइसोलेसनका रुपमा क्याबिनमा राखेर उपचार गर्ने व्यवस्था भएको जानकारी दिँदै उनले भने, ‘निपाको संक्रमण भएमा यतिले मात्रै पुग्दैन।’
चिकित्सकका अनुसार यो रोग लागेका बिरामी आइहालेमा सबैभन्दा महत्वपूर्ण भनेको हेपाफिल्टरसहितको आइसोलेसन वार्ड चाहिन्छ। हेपाफिल्टरले बिरामीको शरीरबाट निस्किने संक्रामक तत्वलाई निष्क्रिय बनाउँछ। यस्तै जोखिमयुक्त भनी पहिचान भएका बिरामी बोक्न समेत विशेष खालको सुविधासम्पन्न एम्बुलेन्स चाहिन्छ। नेपालमा यस्तो एम्बुलेन्ससमेत नभएको चिकित्सक बताउँछन्। महाशाखाले विश्व स्वास्थ्य संगठनको परामर्शमा निपा भाइरसको सम्भावित संक्रमणसँग जुध्न तयारी थाल्ने जनाएको छ।
चमेरोबाट मान्छेमा सरेपछि मान्छेबाट मान्छेमा सर्ने भएकोले यो रोग अत्यन्तै जोखिमयुक्त मानिन्छ। त्यसमा पनि भाइरस संक्रमण भएको २४ देखि ४८ घण्टाभित्रै बिरामीको अवस्था जटिल बन्छ। त्यसैले उच्चतहको परीक्षण क्षमता नहुने हो भने रोगले धेरैको ज्यान लिन सक्छ। यो रोगको संक्रमण भएपछि ७० प्रतिशत बिरामीको मृत्यु ४८ घण्टाभित्रै हुने र बिरामी बाँचे पनि आजीवन अपांग हुने सम्भावना हुन्छ।
रोग यकिन नहुँदै परिवारका सदस्य वा उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत भाइरस सरिसक्ने जोखिम हुन्छ। ‘तत्काल परीक्षण गर्न सकिन्न, यकिन नहुँदै धेरैमा सरिसक्छ’, शुक्रराज अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले भने।यो रोगको भाइरस चमेरोको दिसा, पिसाब र -यालबाट सर्छ। बिरामीको शरीरबाट निस्किने कुनै पनि तरल पदार्थ र हाच्छिउँ गर्दा समेत स्वस्थ मानिसमा भाइरस सर्न सक्छ।
चिकित्सकका अनुसार सुरुमा ज्वरो आउने, टाउको दुख्ने यो रोगको लक्षण हो। निपा संक्रमण भएको ४ देखि १८ दिनसम्ममा पनि रोगको लक्षण देखिन सक्छ। लक्षण देखिएपछि यसले तत्काल स्नायु प्रणालीमा असर गरेर बिरामीलाई बेहोस गराउँछ । यो रोगको भ्याक्सिनसमेत विकास हुन सकेको छैन।
महाशाखाले बुधबार विभिन्न अस्पतालका विशेषज्ञ, प्रयोगशालामा कार्यरत जनशक्तिलगायतको बैठक बोलाएर यो रोगको सम्भावित संक्रमणबारे छलफल गरेको थियो। बैठकमा सरकारको सबैभन्दा उच्च तहको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत रोग र बिरामी नआउँदासम्म नेपालको प्रयोगशालाले काम गर्छ कि गर्दैन भन्ने यकिन गर्न नसकिने प्रतिक्रिया दिएको स्रोतले बतायो।
यो भाइरसको संक्रमणबाट बच्न रुखबाट टिपिएको फलफूलमा केहीले टोकेको जस्तो देखियो भने त्यस्तो फलफूल नखाने, चमेरोलाई नछुने र त्यसको आसपास पनि नजाने उपाय चिकित्सकले सुझाएका छन्। सरकारका तर्फबाट रोग सम्भावित क्षेत्रबाट आउने यात्रुको क्वारेनटाइन (जाँचपडताल) प्रणाली बलियो हुनुपर्ने चिकित्सक बताउँछन्।
शुक्रराज अस्पतालकी निर्देशक डा. रावलले भने यो रोग लागेको केही घण्टामै बिरामीको ज्यान जाने भएकाले संक्रमित व्यक्ति नेपालसम्म आइपुग्ने सम्भावना कम हुने बताइन्।
यसरी पत्ता लागेको थियो निपा
एनआइभी भनिने निपा भाइरस ’फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ। कीटाणु बोकेर हिँड्ने चमेरोलाई केही नगर्ने भाइरस मान्छेमा भने अत्यन्तै जोखिमयुक्त हुन्छ। सन् १९९९ मा मलेसिया तथा सिंगापुरमा यो रोग पत्ता लागेको थियो। इन्सेफलाइटिस तथा श्वासप्रश्वाससम्बन्धी प्रकोप फैलिएका बेला परीक्षण गर्दा बंगुरपालक किसानमा यो रोग भेटिएको थियो। त्यति बेला यो रोगले तीन सयको ज्यान लिएको थियो।
प्रकोप रोक्न १० लाख बंगुर मारिएका थिए। बिरामी बंगुर तथा चमेराको सम्पर्कबाट टाढा रहेर यो रोगबाट बच्न सकिने चिकित्सक बताउँछन्। निपा भाइरस फैलाउने ‘टेरोपस’ प्रजातिको चमेरो नेपालमा पनि पाइन्छ। सन् २०१५ मा अमेरिका, बेलायत र नेपालका कृषि वैज्ञानिकले गरेको अनुसन्धानले काठमाडौं, चितवनलगायतका जिल्लामा रहेका सुँगुरमा निपा भाइरसको संक्रमण हुने सम्भावना प्रबल रहेको देखाएको थियो। विज्ञहरुले भारतबाट नेपालमा जिउदो सुँगुर ल्याउने तत्काल रोक्न सुझाव दिएका छन् भन्दै नागरिक दैनिकमा खबर छ ।