Logo
३० कार्तिक २०८१, शुक्रबार
(May 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफैंले खनेको खाल्डोमा आफैं पर्नुहोला, विप्पामा मेरो कपिराइट अन्त्य भयो : डा. बाबुराम भट्टराई

काठमाडौं, १० जेठ : पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बाहृय पूँजी नल्याएसम्म विकास सम्भव नभएको बताएका छन् । साथै उनले विप्पामाथि आफ्नो कपिराइट अन्त्य भएको घोषणा गर्दै सम्झौता गर्न सरकारलाई आग्रह गरे । यो वर्ष के गर्छौं भन्ने कुरा पर्याप्त नआएको उनले बताए ।

सरकारको नीति तथा कार्यक्रममाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै भट्टराईले भिजन डकुमेन्टका रुपमा आएको भन्दै स्वागत र समर्थन गरे । ‘नीति र कार्यक्रम अन्त्यन्त सुन्दर छ, राम्रा सपना देखाइएको छ,’ उनले भने, कछुवा गतिले हुँदैन, भ्यागुतोको उफ्राइमा जानुपर्छ । त्यसतर्फ संकेत छ ।’

भट्टराईले भूराजनीतिक सन्तुलन मिलाउन र बाहृय पूँजी ल्याउन सरकारलाई सुझाव दिए । उनले भने, ‘संकेत त छन् तर भन्न हिचकिचाहट देख्छु । बाहृय पुँजीको स्वागत र संरक्षण नगरी हाम्रो राष्ट्रिय हित अनुकुल हुने गरी दुवै देशबाट पुँजी ल्याएर लगानी गरेर वस्तु निर्यात नगरेसम्म देशको विकास हुँदैन । त्यसो गर्न सुरक्षा र संरक्षणको नीति हुनैपर्छ, विप्पा सम्झौता गर्नैपर्छ ।’

तर, विप्पा शब्दले किन संकोच पैदा गरेको छ आफूले बुझ्न नसकेको उनले बताए । उनले भने, ‘यदि बाबुराम भट्टराईले प्रधानमन्त्रीकालमा उठाएको भन्ने लागेको हो भने त्यसमा मेरो कपिराइट छैन । यही मञ्चबाट कपिराइट खारेज गरेको घोषणा गर्छु ।’ उनले भनेका छन्, ‘कम्युनिष्ट पार्टी भनिहालियो । कम्युनिष्ट भन्नासाथ बाहृय पुँजी ल्याउनु हुँदैन, हिजो साम्राज्यवादी पुँजीको विरोध गरियो । अब के गर्ने भन्न थाल्नुभयो भने आफैंले खनेको खाल्डोमा आफैं परिन्छ ।’

दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न २५ खर्ब खर्च गर्नु पर्ने तर, यो आन्तरिक स्रोतबाट मात्र सम्भव नहुने पूर्वप्रधानमन्त्री भट्टराईको धारणा छ । उनले संस्थागत संरचनामा ठूलो परिर्वतन नगरी नहुने धारणा राखे । कर्मचारी प्रशासन प्रक्रियामुखी र ‘राजाको काम कहिले जाला घाम’ भन्ने सोचको रहेको उनले टिप्पणी गरे । उनले कर्मचारीहरुबाट काम लिन सकिन्छ भने तलब बढाउन कन्जुस्याइँ नगर्न सरकारलाई सुझाव दिए ।

प्रकाशित मिति: May 24, 2018

प्रतिक्रिया दिनुहोस्