Logo
१ मंसिर २०८१, शनिबार
(May 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफुलाई बलियो मान्ने सरकारको खासै कुनै स्पीरिट देखिदैन : सभापति देउवा

काठमाडौँ, जेठ ९ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा नीतिहरु मात्रै रहेको र कार्यक्रम नभएको बताएका छन् । सभापति देउवाले भने, “योजना र कार्यक्रम बिनाका सपना केवल मनोकामना मात्र हुन् । सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन । आफूलाई बलियो मान्ने सरकारले आर्थिक र सामाजिक सुधारका लागि ठुल्ठूला जोखिम मोल्नुपर्छ, त्यो स्पीरिट म देख्दिँन ।”

प्रतिनिधिसभा बैठकमा आज सरकारको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रममा लक्ष्य छन् तर स्पष्ट रुपमा लेखिएका कार्यक्रम नभएको स्पष्ट पारे । वि.सं २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको काँग्रेसको सरकारले आर्थिक क्षेत्रमा साहसिक र दूरगामी असर पार्ने क्रान्तिकारी काम गरेको उल्लेख गर्दै उनले तत्कालीन सरकारले नै अर्थतन्त्रमा विभिन्न संरचनाको सुधार गरी उदारवाद अर्थतन्त्रको जग बसालेको जानकारी गराए ।

उनले काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नै नयाँ संविधान जारी भएको र त्यसलाई सर्वस्विकार्य बनाउन आफूहरुले संविधान संशोधनको प्रयास गरेको बताए । उनले भने, “स्थानीय, प्रदेश र संघका ऐतिहासिक चुनाव सफल रुपमा सम्पन्न गराई मैले नेपालको नयाँ संविधानलाई सफल कार्यान्वयनमा लगेर छोडेको छु । अब देशले स्थिरता र समुन्नतिको बाटो समातेको छ । राजनीतिक संक्रमण सकिएको छ । विगत दुई वर्षलगातार उच्च आर्थिक वृद्धि दर हासिल गरिएको छ । अहिलेको सरकारलाई अवसर थियो । तर सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुनै सिर्जनशीलता देखिएन ।”

अहिलेको आवश्यकता भनेको संघीयतालाई सफल रुपमा कार्यान्वयन गरी सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याइ जनतालाई सशक्त र सम्पन्न गराउनु हो भन्दै सभापति देउवाले नीति तथा कार्यक्रममा संघीयताको कानूनी तथा प्रशासनिक संरचनालाई क्रियाशील गराउने कुरामा स्पष्ट धारणा नआएको टिप्पणी गरे । प्रदेश र स्थानीय तहलाई निष्प्रभावी बनाउने घुमाउरो नियत काँग्रेसलाई स्वीकार्य नहुने भन्दै उनले नीति तथा कार्यक्रमले ग्रहण गरेको यो मर्मले राजनीतिक आन्दोलनका उपलब्धिलाई नजरअन्दाज गर्न खोजिएको भान भएको उल्लेख गरे ।

दिशाहीन, छरपस्ट सिद्धान्त र नीतिको पोकोले वर्तमान अवस्थामा देशले चाहेको बृहत् लगानी र व्यापक रुपमा रोजगारीका अवसर सिर्जना गर्ने कुरा दिवा सपना मात्रै हुने धारणा व्यक्त गर्दै सभापति देउवाले सरकारले तोकेका लक्ष्य पूरा हुने विश्वसनीय आधार नरहेको उनले बताए । उत्तर–दक्षिण, पूर्व र पश्चिमका हाम्रा सीमानाको सुरक्षा गरेर बसेका नेपाली दाजु–भाई दिदीबहिनीलाई राष्ट्रवादबारे पाठ पढाउन जरुरी नभएको टिप्पणी गर्दै उनले नेपाली जनता जहाँ बसेका भएपनि सबै राष्ट्रवादी हुने उनले बताए ।

प्रकाशित मिति: May 23, 2018

प्रतिक्रिया दिनुहोस्