Logo
२८ पुस २०८१, आईतबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापतिको विरोधमा सशक्त उत्रने कांग्रेसमा पौडेल पक्षको तयारी, डाक्यो भेला

काठमाडौं २४ बैशाख : नेपाली  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आइतबार ४ नेताबीच भएको छलफलमा पदाधिकारी मनोनयन प्रक्रिया र भावी रणनीतिबारे छलफल भएको थियो । ‘भावी दिनमा कसरी अघि बढ्ने भन्नेबारे यसै साता संस्थापनइतर पक्षको भेला बोलाउने तय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘पदाधिकारी मनोनयन प्रक्रियालाई कसरी लिने र सभापति देउवाको गलत कार्यशैलीको कसरी प्रतिवाद गर्ने भन्नेबारे भेलाले तय गर्नेछ ।’

सिंह निवासमा वरिष्ठ नेता पौडेल, सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र नवीन्द्रराज जोशीबीच छलफल भएको हो । पौडेलले नवनियुक्त पदाधिकारीहरू उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खडका र सहमहामन्त्री प्रकाशशरण महतले शनिबार आफूसँग गरेको छलफलबारे जानकारी गराएका थिए । त्यस अवसरमा महामन्त्री शशांक कोइरालाको भूमिकालाई लिएर छलफलसमेत भएको थियो ।

पदाधिकारी मनोनयन विधानविपरीत भएको भन्दै पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बैठक बहिष्कार गर्दा महामन्त्री कोइरालाले भने बैठकमा सहभागी भएरै समर्थन जनाएका थिए । ‘संसदीय दलको निर्वाचनमा प्रकाशमानलाई मत दिएको भनेपछि हामी विश्वासमा थियौं तर पदाधिकारी बैठकमा सबैले देख्ने गरी समर्थन गरेपछि महामन्त्रीको भूमिकालाई अब कसरी लिने ?’ बैठकमा सहभागी एक नेताले प्रश्न गरे, ‘महामन्त्री सभापतिकै पक्षमा उभिने हो भने हामी त्यही ढंगले अघि बढ्नुपर्छ ।’ बैठकमा सहभागी नेता केसीले सभापति देउवाको कार्यशैली विधान र सहमतिविपरीत भएको बताए भन्दै कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्