कोलकाता नाइट राइडर्सले चेन्नाई सुपरकिंग्सलाई ६ विकेटले हरायो
एजेन्सी: चेन्नई सुपर किङ्सलाई सहजै हराउँदै कोलकता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को तेस्रो स्थानमा उक्लिएको छ ।बिहिबार कोलकाताले चेन्नईलाई ६ विकेटले हराएको हो ।
१ सय ७८ रनको लक्ष्य पछ्याएको कोलकाताले १७।५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । उसका लागि शुभम गिल र कप्तान दीनेश कार्तिकले पाँचौं विकेटका लागि अविजित ८३ रनको साझेदारी गर्दै टोलीको जित पक्का गरेका थिए। गिलले३६ बलमा ५७ रन बनाए भने दीनेशले १८ बलमा अविजित ४५ रन जोडे ।
ओपनर सुनिल नारिनले ३२ रन तथा क्रिस लेनले १२ रन जोडेका थिए । रिंकु सिंहले १६ रन बनाएका थिए ।चेन्नईका लुग्गी एनगिदी, केएम आसिफ, रविन्द्र जडेजा र हरभजन सिंहले समान १-१ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । उसका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन जोडे ।
चेन्नईका लागि माथिल्लो क्रमका ब्याट्सम्यानले सामूहिक प्रदर्शन गरेका थिए । ओपनर शेन वाट्सन र फा डु प्लिसिसले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए ।वाट्सनले ३६, डु प्लिसिसले २७, सुरेश रैनाले ३२ र अम्बाटी रायडुले २१ रन जोडे । रविन्द्र जडेजाले १२ रन थपे।
कोलकाता र चौथो स्थानको किङ्स ११ पञ्जाबको समान १० अंक छ । आइपिएलमा शुक्रबार शीर्ष स्थानको पञ्जाब र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।