लियोनल मेस्सीको ह्याट्रिकले बार्सिलोनालाई बनाए ला लिगा च्याम्पियन
स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । आज विहान सकिएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ गोल अन्तरले पराजित गर्दै बार्सिलोना ला लिगाको २५ औँ च्याम्पियन बनेको हो।
बार्सिलोनाको जितको लागि लियोनल मेसीले ह्याट्रिक गरे भने फिलम कौटिन्होले १ गोल थपे। डिपोर्टिभोका लागि लुकास पेरेज र कोलाकले एक–एक गोल गरेका छन् ।
खेलको सातौं मिनेटमै बार्सिलोनाको तर्फबाट कौटिन्हो र ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेललाई २–० को अवस्थामा ल्याए। ४० औं मिनेटमा डोभोर्टिभोका लागि पेरेजले गोल गरेपछि पहिलो हाफ २–१ को अवस्थामा सकिएको थियो। दोस्रो हाफको ६४ औं मिनेटमा कोलाकको गोलबाट डोभोर्टिभो बराबरीमा पुगेको थियो ।
८२ औं मिनेटमा मेसीले अर्को गोल थपे । त्यस लगत्तै ८५ औं मिनेटमा मेसीले पुनः अर्को एक गोल थप्दै ह्याट्रिक मात्र पूरा गरेनन्, बार्सिलोनालाई ला लिगा च्याम्पियन समेत बनाए । ३० वर्षे अर्जेन्टिनी स्टार मेस्सीको यो ४६ औं हृयाट्रिक हो । अब लिगमा चार खेल हुन बाँकी छ ।