Logo
१२ मंसिर २०८१, बुधबार
(April 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत् चुहिएर आगलागी, समयमा दमकल नपुग्दा चार पसल जलेर पूर्ण रुपमा सखाप

इटहरी : सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ पारुहाङ चोकस्थित घना बजार क्षेत्रमा गए राति आगलागी हुँदा चार पसल घर जलेर पूर्ण सखाप हुँदा कम्तीमा रु एक करोड नोक्सानी भएको छ ।

समयमा नै वारुणयन्त्र नपुग्दा ठूलो नोक्सानी ब्यहोर्नुपरेको स्थानीयवासीले गुनासो गर्नुभएको छ । राति १२ बजेतिर सबै सुतेको र ती पसलघरमा प्रायः मानिस नभएका स्थितिमा एकाएक विद्युत् चुहिएर आगो सल्किएको थियो । ती पसल घरमा भएका कम्तीमा ११ खाना पकाउने एलपी ग्यास सिलिण्डर पड्कँदा आगोले विशाल रुप लिएको स्थानीयवासीले बताएका छन् ।

आगलागी भएर तत्काल करीब ५०० मिटर पर रहेको उपमहानगरपालिकाको दमकल बोलाउँदा नआएको तथा १८ किमी पश्चिममा रहेको इनरुवा नगरपालिकाको दमकल आएपछि मात्र इटहरीको दमकल आएकाले पनि बढी नोक्सानी हुन पुगेको आगलागीपीडित पदम अधिकारीले जानकारी दिनुभयो । आगो लागेर अधिकारी, बालकुमार राई, विदेशीकुमार श्रेष्ठ र मनकुमारी राईको पसल घर पूर्णरुपमा खरानी हुँदा ती पसल घरमा रहेका फ्रिज, सुनचाँदी, लत्तापकडा, खाद्यान्न, भाँडाबर्तनलगायत सम्पूर्ण उपभोग्य वस्तुसमेत नष्ट हुँदा ती ती परिवारको बिचल्ली हुन पुगेको छ ।

उक्त आगलागीमा चार पसल घरसँगै पूर्वपट्टि लालधन राईको चारतले पक्की घर र पश्चिमपट्टि मोहनसिंह तामाङको चारतले पक्की घरमा पनि नोक्सानी पुगेको छ । पीडितमध्ये लालधनको रु चार लाख बढीको नोक्सानी भएको छ । सो आगलागीमा अधिकारीको सबैभन्दा बढी करीब रु ४५ लाख नोक्सानी भएको बताइएको छ । नजिकैको दमकल नआइदिएकाले आफूहरुले ठूलो नोक्सानीसँगै घरबास नै उठिबास हुन पुगेको पीडित अधिकारीले गुनासो गर्नुभयो । अधिकारीसँगै अरुको पनि सम्पत्ति नष्ट भएका छन् ।

त्यहाँ लागेको आगो प्रहरी, स्थानीयवासी र इनरुवापछि आएको इटहरीको दमकलको सहयोगले नियन्त्रणमा लिएको बताइएको छ । समयमा नै आगो नियन्त्रण भएकाले बजार क्षेत्रमा अरु सम्भावित ठूलो जनधनको नोक्सानी हुनबाट जोगिएको स्थानीयवासीको भनाइ छ । (रासस)

प्रकाशित मिति: Apr 28, 2018

प्रतिक्रिया दिनुहोस्