ग्याँस बुलेट बोकेको भारतीय ट्रक त्रिशुलीमा खस्यो, चालकको मृत्यु
काठमाण्डौ : ग्याँस बुलेट बोकेको एक एक भारतीय ट्रक त्रिशुलीमा खसेको छ । धादिङ प्रहरीका अनुसार काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट बोकेको भारतीय ट्रक बिहान साढे ६ बजेतिर धादिङ मलेखु स्थित फुर्केखोला नजिकै त्रिशुलीमा खसेको हो ।
उक्त ट्रकका चालक भारतीय नागरिक सुरेन्द्र सिंहको भने ज्यान गएको छ । अन्य २ जनाबारे केहि खुल्न सकेको छैन ।उक्त ट्रकमा जम्मा तिन जना सवार रहेको बताएको छ ।
नौबिसेतर्फ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको ग्यास बुलेट पल्टिएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको छ ।
दुर्घटनामा भारत घर भएका ३६ वर्षीय सिंहको मृत्यु भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जनाएका छन् ।
बुलेट गतिकै क्रममा अनियन्त्रित भई सडकबाट करिव ३५ मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, स्काभेटर बोकेर वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना ६ ख ४२९ नम्बरको ट्रेलर पृथ्वी राजमार्गको थाक्रेमा पल्टिँदा ३ जना घाइते भएको गल्छी प्रहरी चौकीका सहायक निरीक्षक नरोत्तम थापाले जनाएका छन् ।
शुक्रवार बिहान पौने ३ बजे भएको दुर्घटनामा बारा निजगढ घर भएका ३१ वर्षीय चालक विष्णु तामाङ, २१ वर्षीय शरद श्रेष्ठ र १७ वर्षीय प्रविण श्रेष्ठ घाइते भएका हुन् ।