Logo
११ कार्तिक २०८१, आईतबार
(April 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आउनु पुर्व चीन भ्रमणमा निस्किए मोदी, यहाँ आउँदा चढ्नेछन् आफ्नै कार

काठमाडौँ : नेपालको राजकीय भ्रमणमा आउने दिन नजिकिँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अर्को छिमेकी राष्ट्र चीन भ्रमणमा निस्किएका छन् । चीनको हुपै प्रान्तको उ हान सहरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शुक्रबार उनको औपचारिक भेटवार्ता हुँदै छ । मोदी र सीबीच नवौंपटक भेटवार्ता हुन लागेको हो ।

सन् २०१५ मे १५ मा चीन र भारतले सहमतिबिनै लिपु भञ्ज्याङ भएर नाका खोल्ने सम्झौता गरेपछि झस्किएको नेपालले मोदी–सी भेटलाई चासोका साथ हेरिरहेको छ । दुईदिने चीन भ्रमणबाट फर्केको ११ दिनपछि मोदी काठमाडौं आउँदै छन् । तिब्बती शरणार्थीका विषयमा भारत चीनका पक्षमा देखिँदै गर्दा मोदीको भ्रमण भएको हो । नेपालमा रहने र हुने गरेको तिब्बती गतिविधिको विषय त्यहाँ उठ्न सक्ने आकलन नेपाली कूटनीतिज्ञले गरेका छन् ।

चीन हेर्ने उत्तरपूर्वी महाशाखा र भारत हेर्ने दक्षिण एसिया महाशाखा दुवैले मोदीको भ्रमणलाई चासोका साथ हेरिरहेका छन् । परराष्ट्रले दिल्ली र बेइजिङमा रहेको दूतावासलाई पनि यसमा चनाखो हुन आग्रह गरेको छ । नेपालले मोदी र सी चीनफिङको वार्तालाई नजिकबाट नियालिरहेको एक अधिकारीले बताए । दुवै नेता सत्तामा आएपछि सन् २०१४ यता पटक पटक भएका भेटवार्तामा नेपाल छलफलको बुँदा बन्ने गरेकाले पनि नेपाली पक्ष चनाखो बनेको हो । सन् २०१४ जुलाई १४ मा उनीहरूबीच ब्राजिलमा पहिलो भेट हुँदा समेत नेपालको राजनीतिक विषयमाथि छलफल भएको थियो ।

त्यसपछि २०१५ मेमा चीनमा भएको दोस्रो भेटवार्तामा नेपाल र भारतबीच विवादमा रहेको भूभागबाट नेपाललाई जानकारी नै नदिई नाका खोल्ने सहमति गरिएपछि नेपाल झस्किएको थियो । नाका खोल्ने सहमति गरिएको लिपु भञ्ज्याङ नेपालको हो भन्ने स्पष्ट हुँदाहँ‘दै चीनले आँखा चिम्लेपछि नेपालले त्यसप्रति गम्भीर चासो व्यक्त गरिसकेको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले चीन र भारतलाई यसबारेमा ‘कूटनीतिक नोट’ नै लेखेको थियो । चीनका लागि तत्कालीन राजदूत डा. महेशकुमार मास्केले चिनियाँ पक्षलाई औपचारिक र अनौपचारिक दुवै तवरबाट नेपालको पुरानो नक्साको कपीसमेत बुझाएर त्यसबारे स्पष्ट हुन आग्रह गरेका थिए । त्यसयताका भ्रमणमा नेपाल चनाखो हुने गरेको परराष्ट्रका अधिकारी बताउँछन् ।

त्यसपछि चीनले नेपाली भूमिलाई भारतसँगको ‘बक्सिङ रिङ’ बनाउन नचाहेको स्पष्ट पारेको थियो । तैपनि प्रधानमन्त्री मोदीको चीन भ्रमण हुँदा वा चिनियाँ राष्ट्रपतिको भारत भ्रमण हुँदा नेपाल झस्कने गरेको छ । यसबीच चिनियाँ विदेशमन्त्री वाङ यीले चीन, नेपाल र भारतबीच त्रिपक्षीय सहकार्यमा जोड दिएका छन् । चीन सधैं भारतसँग व्यापारमा रम्न खोजेको देखिए पनि भारतले त्यसलाई औपचारिक रूपमा ग्रहण गर्न सकेको छैन । चीनले विहार र उत्तर प्रदेशका जनतालाई हेरेर व्यापारको हात अघि बढाएको बुझेको भारतले नेपाल भएर हुने त्यो व्यापारलाई स्वीकार गरिसकेको छैन ।

त्यही कारण उसले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सहभागिता जनाएको छैन । नेपालले बीआरआईमा सहमति जनाए पनि भारतसँग सहमति हुन नसक्दा त्यसमार्फत आउने सहयोग कार्यक्रम अघि बढ्न सकेको छैन । तिब्बतीको विषयलाई लिएर भारतले चीनसँग टाउको नदुखाउने लक्षणसाथ यो भ्रमण अघि बढेको कूटनीतिक मामिलाका विज्ञहरूको दाबी छ । तिब्बतका विषयमा भारत स्पष्ट हुँदै गएकाले चीनसित उसको सहकार्यमा सकारात्मक प्रभाव पर्दै गएको छ ।

चीनको विश्व नीतिमा नेपाल एउटा सानो पाटो मात्र भए पनि सामारिक महत्त्व रहेकाले छलफल हुनु स्वाभाविक हो । भारतले भने खुला सिमाना र सुरक्षा संवेदनशीलताका कारण नेपालमा बढी नै चासो राख्ने गरेको छ । यो विषयलाई चीनले पनि स्वीकार गरेको छ । यसको पछिल्लो उदाहरण हो, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भ्रमणक्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङले व्यक्त गरेको धारणा । वाङले भनेका छन्, ‘नेपालमा भारतको साथ प्राकृतिक छ तर नेपालमा चीन र भारतको स्वच्छ प्रतिस्पर्धा हुनु राम्रो हो ।’ यसबाट स्पष्ट हुन्छ, चीन नेपालप्रति निरपेक्ष भने बस्दैन ।

नेपाल आउँदा आफ्नै कार
चीन भ्रमण सकेको ११ दिनमा नेपाल आउन लागेका मोदीले आफ्नै कार ल्याउने भएका छन् । भारतीय वायु सेवाको विमानमा काठमाडौं उत्रिनु तीन दिनअघि नै उनी चढ्ने कार काठमाडौं र जनकपुर आइसक्नेछन् । उनी विशेष प्रकारको कार प्रयोग गर्नेछन् ।

आन्तरिक उडानका लागि उतैबाट हेलिकप्टर ल्याउने वा नेपाली सेनाको हेलिकप्टर उपयोग गर्ने भन्ने छलफल चलिरहेको छ । यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भने बुद्ध एयरको विमान प्रयोग गरेका थिए । २०७१ साउन र मंसिरमा नेपाल भ्रमण गर्दा पनि मोदीले आफ्नै कार ल्याएका थिए । उनले सार्क शिखर सम्मेलनमा सहभागी हुन आउँदा समेत आफ्नै कार ल्याएपछि पाकिस्तानका कार्यकारीले पनि आफू चढ्ने कार आफैं ल्याएका थिए ।

अन्य कार भने भारतबाटै नेपालले भाडामा ल्याएको थियो । पछिल्लो समय नेपालसँग आगन्तुक भीभीआईपीले प्रयोग गर्न सक्ने कार छ । कतारले अनुदानमा दिएको कारबाहेक तीनवटा बुलेट प्रुफ कार पनि छन्  भन्दै चन्द्रशेखर अधिकारीले कान्तिपुरमा लेखेका छन् । तर, मोदीले यस पटक पनि आफैं कार ल्याउन लागेका हुन् ।

प्रकाशित मिति: Apr 27, 2018

प्रतिक्रिया दिनुहोस्