Logo
११ कार्तिक २०८१, आईतबार
(April 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विरोधी तत्वहरुले समस्या पारे, पार्टी एकता गर्न दिएनन् : सुवास नेम्वाङ

काठमाण्डौ, १४ वैशाख : नेकपा एमालेका नेता सुवास नेम्वाङले एमाले र माओवादीबिचको पार्टी एकता हुन नसकेको नभै केही समय ढिलाई मात्रै भएको बताएका छन् ।

दुई ठूला पार्टीबिचको एकता चुनौतिपूर्ण भएको भन्दै उनले लामो समय छुट्टाछुट्टै उभिएका दलहरुको मिलन सहजै नहुने भए पनि निष्कर्षमा भने पुर्याएरै छाड्ने दाबी गरे ।

नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै नेम्वाङले वैशाख नौ गते एकता गर्ने प्रयास गरिए पनि हुन नसकेको स्विकार गर्दै ढिलाई भने नभएको बताए ।

जनमानसमा एकता नहुने हो कि भनेर अन्योल बढेको भन्ने कुराको पनि नेम्वाङले स्विकार गरेका छन् । “अन्योलको कुरा उठाउने गरेको छ । त्यसलाई म सम्मान गर्छु । तर हामी प्रक्रियामा छौँ । चाँडै निष्कर्षमा छौँ ।” नेम्वाङले भने ।

“सबैजना मिलोस भन्ने मात्रै छैनन् । कोही कोही नमिलोस् भन्ने पनि छन् । त्यसैले चुनौतिपूर्ण छ ।” नेम्वाङले भने । पार्टी एकता नहोस् भन्ने चाहना कसले राख्यो भन्ने प्रश्नमा भने उनले खुलस्त पार्न सकेनन् ।

“पार्टी एकताविरोधीहरु छन् भन्ने प्रष्टै छ । तर को हुन् भन्ने कुरा राम्रोसँग देखा परिसकेका छैनन् । तिनलाई जनताले पनि चिन्नेछन् ।” नेम्वाङले भने ।

खुला सिमाना भएकाले जहाँबाट पनि पार्टी एकता विरोधी निस्कन सक्ने बताएका नेम्वाङ, भारत र चिन पनि एकता विरोधी हुन् भनेर सोधिएको प्रश्नमा भने आक्रोषित भए ।

“मैले त्यो भनिरहेको छैन ऋषिजी, तपाईले आफ्नो कुरा भन्ने हो भने तपाईले आफ्नो कुरा मात्रै सुनाए भैहाल्यो । नत्र मैले जे उत्तर भनेको छु त्यही मात्रै सुन्नुस् । सबैजना सकारात्मक छैनन् । तर धेरै जना खुशी छन् ।”

नेपाली कांग्रेस एकता विरोधी हो भनेर सोधिएको अर्को प्रश्नमा पनि नेम्वाङ असन्तुष्ट देखिए । “मैले नेपाली कांग्रेस भनेँ र ? तपाईको त्यही बुझाई हो भने त्यो तपाईको आफ्नो तर्फबाट भन्ने कुरा हो । तर मैले कांग्रेसको नाम लिएको छैन ।”

जे जस्ता चुनौति भए पनि पार्टी एकतालाई कसैले रोक्न नसक्ने नेम्वाङको दाबी छ । मुलभूत विवाद केही पनि नभएको दाबी गर्दै नेम्वाङले भने, “मैले विवाद देखेको छैन । सबैमा मुलभूत विषयमा सहमति छ ।”

नेता व्यवस्थापनको विषय पनि हल भइसकेको नेम्वाङको दाबी छ । दुईवटा पार्टी मिलेपछि सबैको व्यवस्थापन हुने उनको दाबी छ ।

प्रकाशित मिति: Apr 27, 2018

प्रतिक्रिया दिनुहोस्