Logo
१० मंसिर २०८१, सोमबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजमार्ग क्षेत्रमा आँपको संरक्षण नहुँदा लाखौँ रुपैयाँको घाटा हुँदै

लहान : पूर्व–पश्चिम राजमार्ग सिरहा र सप्तरी सडकखण्डमा रहेका आँपको संरक्षण नहुँदा वर्षेनी लाखौँ रुपैयाँको घाटा हुँदै आएको छ । राजमार्गको दुवैतर्फको छेउमा रहेका रुखबाट वर्षेनी पर्याप्त मात्रामा आँप फल्ने गरे पनि डिभिजन सडक कार्यालय लहानले संरक्षणमा ध्यान नदिँदा त्यत्तिकै खेर गइरहेको छ । संरक्षण नहुँदा आँप केही काँचो अवस्थामै झर्छ भने अरु गाडीका चालक र यात्रुले टिप्ने गरेको सिरहाको गोलबजारका श्रीप्रसाद साह बताएका छन् ।

राजमार्ग छेउमा कति संख्यामा आँपको रुख छ भन्ने सडक डिभिजन कार्यालयसँग कुनै तथ्यांक छैन । अहिलेसम्म आँपको रुखको गणना नै गरिएको छैन । आँपको रुखको बोलपत्र आह्वान गरेर ठेक्का दिइनु पर्ने साहको भनाइ छ । ‘ठेक्कामा लगाउन सके पर्याप्त आम्दानी हुने सम्भावना छ,’ उनले भने । सरकारले एक गाउँ एक उत्पादनमा जोड दिएपनि सिरहा र सप्तरीको राजमार्ग छेउमा हुर्केका आँपको संरक्षण हुन नसकेको लहान नगरपालिकाका किसान सत्रुधन चौधरी बताएका छन् । सिरहा–चोहर्वा सडक छेउमा रहेका तीन सयभन्दा बढी आँपका रुखको समेत संरक्षण हुन सकेको छैन ।

डिभिजन सडक कार्यालय लहानका प्रमुख रामकुमार देव जनशक्ति आभावका करण राजमार्ग छेउका आँपको संरक्षण गर्न नसकिएको बताए । उनले भनेका छन्, ‘कर्मचारी परिचालन गरेर आँपको संरक्षण गर्न सम्भव छैन । केही वर्षअघिसम्म राजमार्ग क्षेत्रका महिलाकै अगुवाइमा उपभोक्ता समिति बनाएर आँपको संरक्षणको प्रयास गरिए पनि ती समूह अहिले निष्क्रिय बनेका कारण आँपको संरक्षण हुन नसकेको देवले बताएका छन् । सिरहा र सप्तरीमा यसवर्ष मौसमले साथ दिएका कारण आँप उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । सिरहामा कूल पाँच हजार ६०० हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ ।

यसवर्ष ६७ हजार २०० मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख रामचन्द्र यादव बताए । गतवर्ष कूल पाँच हजार ६०० हेक्टरमा ५० हजार ४०० मेट्रिक टन आँप उत्पादन भएको थियो ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्