Logo
७ कार्तिक २०८१, बुधबार
(April 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनसँग काठमाडौंलाई जोड्ने सबैभन्दा छोटो मार्ग अन्तिम चरणमा

मैलुङ देखि स्याफ्रु सम्म डबल लेनको १७ किलोमिटर सडक निर्माण कार्य नेपाली सेनाले सम्पन्न गरेको छ । सडक खुलेको जानकारी दिन नेपाली सेनाको निर्माण कार्यदलले सरोकारवालाहरु सहितको टोलीलाई शुक्रबार मैलुङदेखि स्याफ्रुबेसीसम्म मोटरमा यात्रा गराएको थियो । १७ किलोमिटर सडक निर्माण सम्पन्न भए सँगै गल्छी, त्रिशुली, बेत्रावती मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक काठमाडौंलाई चीनसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएको छ ।

सडक निर्माण सम्पन्न भएपनि स्तरोन्नतिको काम बाँकी रहेको सडक निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी सञ्जय केसीले बताए । स्तरोन्नतिको काम भइरहेकाले नेपाल सरकारलाई सडक हस्तान्तरण गर्नु पूर्व यातायात सञ्चालन गर्न रोक लगाएको केसीले बताए । सेनाले वैशाखसम्ममा सरकारलाई सडक हस्तान्तरण गर्नेछ ।

सरकारले २०७२ सालको भूकम्पपछि सडक निर्माणका लागि सेनालाई जिम्मा दिएको थियो । भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सिंगल लेन र मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर डबल लेन गरी २३ किलोमिटर सडक तोकिएको निर्धारित समयमा सेनाले निर्माण गरेको छ । सडक निर्माण सम्पन्न गर्न हालसम्म ६८ करोड ६९ लाख खर्च भइसकेको छ ।

काठमाडौंबाट बेत्रावती धुन्चे हुँदै रसुवागढी जोड्ने सडकको दूरी १ सय ४५ किलोमिटर रहेको छ । काठमाडौंबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी भने १२२ किलोमिटर मात्र छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

उक्त सडक दक्षिण एसिया जोडने लाइफ लाइनको रुपमा रहने छ । गल्छि, बेत्रावती, मैलुङ, स्याफ्रुबेसी रसुवागढी सडक बनेपछि उत्तर (चीनको केरुङ) र (दक्षिण (भारतको ठोरी) जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक हुनेछ । अहिले सञ्चालमा रहेको पासाङल्हामु मार्गको बेत्रावती, कालिकास्थान, धुन्चे स्याफ्रुबेसी सडकभन्दा बेत्रावती, मैलुङ, स्याफ्रुबेसी सडक २५ किलोमिटर छोटो रहेको छ ।

चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने गरी तयारी गरेको छ । सेनाबाट सडक हस्तान्तरण गरेपछि सडक विभागले कालोपत्रेको काम अघि बढाउनेछ । सडक निर्माण पूरा भएसँगै रसुवागढीदेखि धादिङको गल्छीसम्मको दुरी ८४ किलोमिटरको हुनेछ ।

गल्छीबाट काठमाडौंसम्मको दुरी ५० किलोमिटर रहेको छ । काठमाडौंबाट चीनको केरुङ करिब ४ घन्टामा पुग्न सकिनेछ । पर्साको ठोरीबाट चितवनको भण्डारा–गल्छी हुँदै त्रिशुली बेत्रावती–मैलुङ–स्याफ्रबेसी मार्ग सञ्चालन हुँदा चीन र भारतबीचको दुरी दुई सय ३० किलोमिटर हुनेछ ।

प्रकाशित मिति: Apr 14, 2018

प्रतिक्रिया दिनुहोस्