Logo
७ कार्तिक २०८१, बुधबार
(April 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रासायनिक हमलाको प्रतिक्रिया स्वरूप सिरियामा हवाई हमला : राष्ट्रपति ट्रम्प

संयुक्त राज्य अमेरिका, फ्रान्स र ब्रिटेनले पूर्वी गुटामा गत हप्ता गरिएको आरोपित रासायनिक हमलाको प्रतिक्रिया स्वरूप सिरियामा हवाई हमला शुरू गरेका छन्। दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाजहरू सुन्न सकिन्छ। र, आकाशमा धुवाँको मुस्लो देख्न सकिन्छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमला गर्न लागिएको घोषणा गर्दै एउटा वक्तव्य जारी गरेका छन्।

उनले सिरियाली सरकारले रासायनिक अस्त्रको प्रयोग नरोकेसम्म अमेरिका र उसका साझेदार मुलुकहरूले कारबाही जारी राख्न तयार रहेको बताएका छन्। ट्रम्पले रासायनिक हमलाका लागि रुस प्रत्यक्ष रूपमा जिम्मेवार रहेको आरोप लगाउँदै सिरियाली रासायनिक अस्त्रहरू निर्मूल पार्ने सन् २०१३ को वाचा पूरा गर्न रुस विफल भएको समेत बताए। यसअघि अमेरिकाले सिरियाको पूर्वी गुटामा गरिएको शंकास्पद रासायनिक हमलामा सिरियाली सरकारको हात रहेको र त्यसलाई रोक्न रुसले केही पनि नगरेको आफूसँग प्रमाण रहेको जनाएको थियो।

अमेरिकी विदेश मन्त्रालयकी एकजना प्रवक्ताले सिरियासँग सही खालको अस्त्र र त्यसलाई प्रयोग गर्ने साधन रहेको बताएकी थिइन्। सिरियामा महत्त्वपूर्ण रूपमा सैन्य उपस्थिति भएको रुसले हमलालाई ब्रिटेनले उक्साउनका लागि प्रयोग गरिरहेको आरोप लगाएको छ, जुन आरोप लण्डनस्थित ब्रिटिश सरकारले सशक्त रूपमा अस्वीकार गरेको छ।

ट्रम्पद्वारा सम्बोधन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट सिरियाको अवस्थाबारे राष्ट्रलाई सम्बोधन गर्दै सिरियामा हमला जारी रहेको बताएका छन्। ट्रम्पले सिरियाली रासायनिक अस्त्रहरू भएका स्थानहरूमा ब्रिटेन र फ्रान्सको सहकार्यमा सैन्य हमला गर्नका लागि आफूले अनुमोदन गरेको बताएका छन्। गत हप्ता सिरियाली नगर डुमामा गरिएको आरोपित रासायनिक हमलाको जवाफमा हवाई आक्रमण गरिएको हो।

आफ्नो सम्बोधनमा ट्रम्पले भने, “फ्रान्स र ब्रिटेनका सशस्त्र फौजहरूको संलग्नतासहित एउटा संयुक्त कारबाही जारी छ।” अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अधिकारीहरूले हमलामा कम्तीमा तीन ठाउँलाई निसाना बनाइएको बताएका छन्। सिरियाको सरकारी टेलिभिजनले सरकारी फौजले एकदर्जन भन्दा बढी क्षेप्यास्त्रहरू खसालिदिएको जनाएको छ।

सिरियाली सरकारको मुख्य साझेदार रुसले अमेरिकाका लागि आफ्ना राजदूत मार्फत् विज्ञप्ती जारी गराउँदै ‘यस्ता कदमप्रति प्रतिक्रिया नजनाइ नबस्ने’ जनाएको छ। ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले ‘फौज प्रयोग गर्नुबाहेक अरू कुनै व्यवहारिक विकल्प नभएको’ भन्दै कारबाहीमा ब्रिटेन संलग्न भएको पुष्टि गरेकी छन्।

तर उक्त कारबाही ‘सत्ता परिवर्तन’सँग सम्बन्धित नरहेको उनले स्पष्ट पारिन्। हमलाले सिरियाली जनतालाई रासायनिक अस्त्रहरूबाट जोगाउने र त्यस्ता अस्त्रको प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय मूल्यको उल्लङ्घन हुनबाट रोक्ने प्रधानमन्त्री मेले उल्लेख गरिन्।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले रासायनिक अस्त्रशरू सामूहिक सुरक्षाका लागि खतरा भएको बताए। उनले सिरियाली सरकारका गतिविधिहरूले फ्रान्सले तोकेको लक्ष्मणरेखालाई नाघेको टिप्पणी गरे।

रासायनिक हमलाको प्रमाण छ: अमेरिका
सिरियाको पूर्वी गुटामा भएको भनिएको रासायनिक हमला पछाडि सिरिया सरकार रहेको र त्यसलाई रोक्न रूसले केही नगरेको प्रमाण आफूसँग रहेको अमेरिकाले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयकी एकजना प्रवक्ताले सिरियासँग सही किसिमका अस्त्रहरू र त्यसलाई प्रयोग गर्ने साधन रहेको पनि बताइन्।

अमेरिका, फ्रान्स र ब्रिटेनले सैन्य प्रतिक्रिया जनाउने जस्तो देखिएका बेला अन्तर्राष्ट्रिय रासायनिक हतियार निरीक्षकहरूले सिरियामा त्यसबारे छानबिन शुरू गर्न लागेका छन्।  सिरियामा महत्त्वपूर्ण सैन्य उपस्थिति जनाएको रुसले ब्रिटेनलाई हमलाको विषयमा उक्साइरहेको आरोप लगाएको छ, जुन दाबीलाई लण्डनस्थित सरकारले भने सशक्त रूपमा अस्वीकार गरेको छ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिवले ‘शीतयुद्ध प्रतिशोधका रूपमा फर्किएको’ बताएका छन्। महासचिव एन्टोनियो गुटेरसले सिरियामा युद्ध भड्किँदा त्यसले निम्त्याउने खतराबारे चेतावनी दिएका छन्। गुटेरसले उक्त चेतावनी संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकको शुरूमा दिएका हुन्।

उनले सबै देशहरूलाई अहिलेको खतरापूर्ण अवस्थामा यसबारे जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत हुन आह्वान गरे। अमेरिका र उनका साझेदार मुलुकहरूले सिरियाविरुद्ध त्यहाँ क्षेप्यास्त्र हमला गर्नेबारे छलफल गरिरहेका छन्। सिरियामा भएको भनिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरूप उनीहरूले क्षेप्यास्त्र हमला गर्नेबारे छलफल गरिरहेका हुन्।

तर सिरिया सरकारलाई सघाइरहेको रुसले भने यदि त्यस्तो भए त्यसले युद्ध शुरू गर्ने खतरा रहेको बताएको छ। फ्रान्सेली राजदूतले सिरियाली सरकार फर्किन नसक्ने बिन्दुमा पुगेको बताएका छन्।

प्रकाशित मिति: Apr 14, 2018

प्रतिक्रिया दिनुहोस्