बंम विष्फोटमा संलग्न भएको आरोपमा पूर्व सांसदसहित ७ पक्राउ
उदयपुर : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समयमा भएका बम विष्फोटका घटनामा संलग्न भएको आरोपमा पूर्व सांसदसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पूर्व सांसद किरण राई सहित सात जनालाई धनकुटाबाट पक्राउ गरी उदयपुर ल्याएको हो।
प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले अघिल्लो दिन धनकुटाबाट पक्राउ परेका ७ जनालाई उदयपुर ल्याईएको पुष्टि गरे। तर, पक्राउ पर्नेहरुको नाम, ठेगाना खुलिनसकेको उनले बताए।
पूर्व सांसद राई नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चथा पूर्वी व्युरो इन्चार्ज समेत हुन्। राई ०६४ को निर्वाचनमा सुनसरीबाट नेपाल नेकपा माओवादीको तर्फबाट विजयी भएका थिए।
चैत पहिलो साता पक्राउ परी धनकुटा प्रशासनबाट साधारण तारेखमा छाडिएका राईलगायतलाई प्रशासन परिसरबाटै पक्राउ गरी उदयपुर ल्याइएको नेकपाका उदयपुर कार्यालय सचिव प्रशान्तले बताए।
उनले दुई दिन अघि सदरमुकाम स्थित रंगशालामा भएको विष्फोटमा नेकपाको संलग्नता नभए पनि धरपकड गरेर द्वन्द्व निम्त्याउन खोजिएको बताए।