वर्ष २०७४ लाई फर्किएर हेर्दा…..
काठमाडौं : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार २०७४मा सङ्घीयताको कार्यान्वयनका लागि स्थानीय, प्रदेश र केन्द्र गरी तीन तहको निर्वाचन शान्तिपूर्ण र जनताको उल्लेख्य सहभागितामा सफलतापूर्वक सम्पन्न भएको छ । नेपालमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि भएको यो महत्त्वपूर्ण उपलब्धि हो ।
वैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा रहेका २ सय ८३, असार १४ गते प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लामा रहेका ३ सय ३४ र असोज २ गते २ नम्बर प्रदेशका १ सय ३६ स्थानीय तह गरी तीन चरणमा देशका ७ सय ५३ स्थानीय तहमा निर्वाचन गरिएको थियो । स्थानीय सरकार सञ्चालनका लागि चुनिएका जनप्रतिनिधिले ५ वर्षे कार्यकालका लागि कार्यभार सम्हालेका छन् । संवैधानिक व्यवस्थाबमोजिम स्वायत्त सरकारको हैसियत राख्ने स्थानीय तहबाट काम हुन थालेपछि जनताका काममा केही हदसम्म सहजता आएको छ ।
यस्तै, सरकारले ७ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि यसै वर्ष दुई चरणमा गरेर सम्पन्न गर्यो । मङ्सिर १० मा भएको पहिलो चरणको निर्वाचनबाट ३२ जिल्लाका ३७ क्षेत्रमा प्रतिनिधिसभा र ७४ प्रदेशसभाका सांसद प्रत्यक्षतर्फ निर्वाचित भए । दोस्रो चरणमा मङ्सिर २१ गते ४५ जिल्लाका १ सय २८ क्षेत्रमा प्रतिनिधिसभा र २ सय ५६ निर्वाचन क्षेत्रमा प्रदेशसभाका सांसद निर्वाचित भएका छन् ।
दुई सदन रहेको सङ्घीय संसद्को प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सदस्य छन् । सबै तहको निर्वाचनपछि प्रधानमन्त्री, राष्ट्रपति/उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख/उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष÷उपाध्यक्षको निर्वाचन पनि सम्पन्न भएको छ । यसैगरी ७ प्रदेशमा ५ सय ५० जनाको अलगअलग प्रदेशसभा गठन भई प्रदेश प्रमुख, प्रदेश सरकार र प्रदेश सभामुखसमेतको चयन भइसकेको छ ।
यो सँगै ७ दशकदेखि जारी राजनीतिक सङ्क्रमण अन्त्य भएर नयाँ संविधान कार्यान्वयनको चरण पनि सकिएको छ । दुईपटक संविधानसभाको निर्वाचनमार्फत २०७२ असोज ३ गते जारी गरेको नयाँ संविधानको कार्यान्वयनको प्रक्रिया पूरा भएको छ ।