परिवर्तनको अनुभूत हुने गरी काम गर्न सकिएन : प्रदेश प्रमुख कायस्थ
जनकपुरधाम : प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले मधेसी, आदिवासी, पिछडिएको समुदायमा प्रकट भएका असन्तुष्टिको सन्दर्भमा संविधानको स्वामित्वको दायरालाई थप फराकिलो बनाउनुपर्ने खाँचौँ औँल्याउनुभएको छ ।
बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकार जनताका सबै समस्याबारे जानकार र प्रदेशको समग्र विकासप्रति संवेदनशील भए पनि नीतिगत, कानूनी, संस्थागत एवं व्यवस्थापकीय प्रबन्ध भइनसकेकाले तत्काल जनअपेक्षाअनुरूप परिवर्तनको अनुभूति हुने गरी सञ्चालन गर्न नसकिएको बताउनुभयो ।
चालु आवको बाँकी अवधिमा नेपाल सरकारबाट आव २०७४/०७५ को बजेटमार्फत विनियोजित रकमको सीमाभित्र रही आफ्ना क्रियाकलाप सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले सङ्घीय सरकार मातहतका क्षेत्रीय तथा जिल्लास्थित प्रशासनिक निकाय र विकास आयोजना प्रदेश सरकार मातहत नआएकाले सरकारले तय गरेका नीति तथा कार्यक्रम कार्यान्वयनमा कठिनाई भइरहेको छ भन्नुभयो ।
प्रमुख कायस्थले प्रदेश सरकारले नीतिगत, कानूनी तथा संरचनागत प्रबन्ध गर्दै सरकारी संयन्त्रलाई काम गर्न उच्च प्राथमिकतामा राखेको बताउनुभयो । प्रदेश सरकारबाट जारी भएको १०० दिने कार्य योजनाको पालना एवं कार्यान्वयन गर्ने दिशामा उन्मुख रहेको बताउँदै उहाँले नेपाल सरकारले राजस्व र अनुदानको बाँडफाँड गर्दा यस प्रदेशको जनसंख्याको आकार र मानव विकासको सूचांकलाई आधार मान्नुपर्नेमा जोड दिनुभयो । (रासस)