Logo
७ पुस २०८१, आईतबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानीको सुरक्षा साझा सरोकारको विषय भएकाले अभियान चलाउनुपर्नेमा जोड

काठमाडौं : पानीको सुरक्षा साझा सरोकारको विषय भएकाले साझा अभियान चलाउनुपर्नेमा जोड दिइएको छ ।आजदेखि राजधानीमा शुरु भएको तीनदिने ‘पानी, वातावरण र जलवायु परिवर्तनः ज्ञानको आदानप्रदान र साझेदारी’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीले पानी सुरक्षा चुनौती बन्दै गएकाले साझा अभियान लिई अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पानी सुरक्षा महत्वपूर्ण विषय भएकाले सरोकारवाला निकायलाई ध्यान दिन आग्रह गरे । बढ्दो जनसंख्या र शहरीकरणले पानीको स्रोत, वनजंगल र जमिनमा असर परिरहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले भने, “जीवनको आधारका रुपमा रहेका पानीको आपूर्ति अत्यन्त संवेदनशील विषय हो, घरायसी उपयोग, कृषि र औद्योगिक प्रयोजनमा पानीको माग बढ्दै गएकाले पानी अमूल्य छ, यसको सुरक्षामा ध्यान दिन जरुरी छ ।”

उपराष्ट्रपति पुनले संयुक्त राष्ट्रसंघले दिगो विकासका लागि निर्धारण गरेका लक्ष्यको बुँदा नं ६ मा राष्ट्रिय योजनामा ढालेर कार्यान्वयनमा ल्याउनुपर्नेमा पनि जोड दिए ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता, दिगो विकासका लक्ष्य र विपद् जोखिमसम्बन्धी सेन्डाई फ्रेमवर्कका प्रावधान वातावरण विनाशको असरबाट जोगाउनका साथै मुलुकको आर्थिक सामाजिक विकासका लागि अत्यन्त महत्वपूर्ण भएको पनि उपराष्ट्रपतिले बताए ।

उनले जल, वायु र विषाक्त फोहरबाट भइरहेको प्रदूषणलाई रोक्नुपर्ने, जलवायु परिवर्तनको असरबाट नेपाल अत्यन्त प्रभावित हुने मुलुकमा परेको उल्लेख गर्दै नेपालमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले विश्वलाई नै नयाँ सन्देश दिनसक्ने विश्वास पनि गरे ।

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री डा. हान सुङ सूले पानी जीवनको प्रमुख आधार भएको बताए । पानीविनाको जीवन कल्पना गर्न नसकिने बताउँदै उनले पानीको व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण रहेको बताए ।

संयुक्त राष्ट्रसंघको हाई लेभल एक्सपर्ट एण्ड लिडर इन वाटर एण्ड डिजआस्टरका प्रमुख रहनुभएका पूर्वप्रधानमन्त्री डा हान सूङ सूले मानव सभ्यताको शुरुआत नदी किनाराबाट भएको उल्लेख गर्दै खाद्यान्न, सिँचाइ र यातायातमा पानीको बहुआयामिक उपयोगको प्रयोग व्यवस्थित हुनुपर्नेमा जोड दिए । (रासस)

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्