पूर्वलडाकु अनुपा राईको टाउको र घाँटीमा रहेको गोलीको छर्रा निकालियो
झापा : माओवादी पूर्वलडाकु अनुपा राईको टाउको र घाँटीमा रहेको गोलीको छर्रा निकालिएको छ ।
विगत डेढ दशकदेखि शरीरको विभिन्न भागमा गोली छर्रा बोकेर हिँडिरहनुभएका राईको बिर्तामोडस्थित बिएण्डसी टिचिङ हस्पिटलले निःशुल्क शल्यक्रिया गरी छर्रा निकालिएको हो । पाँच घण्टा लामो शल्यक्रियापछि अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा पंकज नेपाल नेतृत्वको चिकित्सक टोलीले राईको टाउको र घाँटीबाट पाँच÷पाँच एमएमको छर्रा निकालेको हो ।
अनुपाको छातीका करङ, हातका हड्डी र घाँटीका हड्डीमा छर्रा रहेको डा नेपालले बताए । उनले भने, “हड्डीमा रहेका छर्रा खासै असर गर्दैन । जटिल शल्यक्रियाबाट हामीले पेसेन्टको टाउकामा रहेको गोलीको छर्रा निकाल्यौँ ।” आज अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा डा नेपालले भन्नुभयो, “शल्याक्रिया नै गाह्रो थियो, तर पनि हामी सफल भयौँ ।”
हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मुलुकको परिवर्तनका लागि संघर्ष गर्नुभएका राईको उपचार गर्न पाउँदा निक्कै खुशी लागेको बताए ।
उपचार पाएपछि अनुपाले अस्पताल र उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिए ।
विसं २०५९ वैशाख २४ मा संखुवासभाको चैनपुरमा आक्रमण हुँदा घाइते हुनुभएका अनुपाको शरीरको विभिन्न भागमा विष्फोटक पदार्थको छर्रा लागेको थियो ।