Logo
११ मंसिर २०८१, मंगलबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० वर्षदेखि साउदीमा बन्धक बनाइएकी गंगामायाकाे उद्धार

काठमाडौँ : १० वर्षदेखि साउदीमा बन्धक बनाइएकी एक महिलाको उद्धार भएको छ । गत मार्च ८ तारिख अन्तर्राष्ट्रिय नारी दिवसको दिन मालिकले नुवाकोटको विदुर नगरपालिका—४ कि गंगामायाको राहदानी नविकरण गराउन जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयमा निवेदन दिन पुगेपछि मात्रै गंगामायाको अवस्था पत्ता लागेको थियो । साउदी अरबको ताइफमा कार्यरत गंगामायालाई मालिकले परिवारसँग सम्पर्क गर्न नदिई राखेको थियो ।

नुवाकोटको विदुर नगरपालिका—४ स्थित बट्टार, फेदी गाँउका विनोद कुमाल आफ्नो आमा जिउँदै रहेको खबर पाउँदा निकै खुसी भए । १० वर्ष अघि साउदी अरब पुगेकी उनकी आमा गंगामाया परिवारसँगकाे सम्पर्कमा थिइनन् ।  ‘हामी त आमा यो संसारबाट विदा भइसक्नुभयो भनेर सोचेका थियौँ । हामीलाई खबर पनि त्यस्तै पाएको थियौँ। ’ उनले भने, ‘आमाको आशा मारिसकेका थियौं । अब कहिले भेट्न पाउँला जस्तो भइसक्यो ।’

‘उनलाई नलिई राहदानी बोकेर थप १० वर्षको म्याद भएको राहदानी देऊ भन्दै साउदी नागरीक दूतावास आइपुगेको थिए । मालिकसँग भएको राहदानी हेर्दा, आएदेखि नै गंगामायालाई नेपाल पठाएको देखिएन,’कार्यबाहक महावाणिज्यदूत रेवती पौडेलले भने,‘हामीले गंगामाया पनि चाहिने बतायौँ । आफ्नो परिवार सहित आएको उसले गंगामायालाई गाडीमै राखेको रहेछ । दूतावासभित्र गंगामाया आएपछि हामीले उनीहरुसँग फिर्ता जान दिएनौँ ।’

गंगामायाको हस्तलिखित राहदानीको म्याद २०१८ फेब्रुअरी १७ तारिखमा सकिएको थियो । साउदीले हस्तलिखित राहदानी भएपनि गंगामायाको आवसीय अनुमति (पताका)को नविकरण गर्दै आएको थियो । मालिकको डरले शुरुमा आफूलाई साउदीमै बस्न मन लागेको बताएकी थिइन् । दूतको कार्यालयले नेपालीमै बोल्न लगाएपछि आफू निकै यातना सहेर बस्नु परेको बताइन् ।

‘मेरो श्रीमान् र बुवाको मृत्यु हुदाँ पनि नेपाल जान दिएनन्,’गंगामायाले बताइन्,‘नेपाल जान पाउदिनँ जस्तो लागेको थियो । यही मरिन्छ कि भनेर पीर लाग्थ्यो ।’ उनले आफूसँग भएको परिवार र आफन्तको फोन नम्बर समेत खोसेर राखिदिएको बताइन् । ‘परिवारसँग सम्र्पक गर्दा नेपाल लैजान्छ भनेर होकी । कसैसँग सम्पर्क गर्न दिएन,’उनले भनिन्,‘घरमा एउटा छोरा र एउटी छोरी छोडेर आएको थिएँ । अहिले कस्ता भइसके होलान् ?’

साउदी मालिकले शुरुको तीनवर्ष चार महिनाको तलब दिएको थियो । झन्डै ७ बर्षको ३० हजार रियाल श्रम अदालतबाट दिलाएको पौडेलले बताए । ‘गंगामाया र मालिकलाई लिएर प्रहरी स्टेशन लिएर गयौं । प्रहरीबाट अपेक्षा अनुसार सहयोग मिलेन । लेनदेनको विषय भन्दै श्रम अदातलमा जान सुझाव दिए,’पौडेलले भने,‘मालिक बस्ने क्षेत्रकै श्रम अदालतमा गएर मुद्धा हाल्नुपर्‍यो ।’

जेद्दाबाट गंगामाया काम गर्ने ताइफ भन्ने ठाँउ झन्डै तीन सय किमी पर्छ । अदालतको आदेश अनुसार गंगामायाको टेलिफोन खर्च, वयक्तिगत खर्च कटाएर रकम दिएको थियो । ‘सबै प्रक्रिया पुरा गरेर स्वदेश पठाउनेछौं,’ उनले भने,‘अहिले दूतावासको सेल्टरमा छ ।’

 

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्