थप एक लाख भूकम्पपीडितलाई अनुदान : निर्णय नै नभएको खुलाशा
काठमाडौं : भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारको निर्णय झुट ठहरिएको छ ।
गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट बढाएर ४ लाख पु-याउने निर्णय भएको सार्वजनिक गरिएपनि मन्त्रिपरिषद्को माइन्युटमा उक्त विषयनै समावेश छैन् ।
मुख्यसचिव लोकदर्शन रेग्मीले पनि घुमाउरो भाषामा त्यस्तो निर्णय नभएको संकेत गरेका छन् । भूकम्पपीडितका बारेमा निर्णय भएको हो भने त्यो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको वेवसाइटमै हुने बताउँदै त्यहीँ हेर्न आग्रह गरे तर यो निर्णय त्यहाँ छैन । उनले वेवसाइटमा त्यस्तो निर्णय नभए यससम्बन्धमा माइन्युट नै नभएको स्पष्ट पारे ।
मन्त्रीपरिषद् कार्यालयको वेवसाइटमा यस्तो निर्णय भएको कतै उल्लेख छैन् । तत्कालिन सरकारका एक वरिष्ठ मन्त्रीले पनि भुकम्पपीडितलाई थप अनुदान दिने निर्णय नभएको बताए । मन्त्रिपरिषद् बैठकमा भूकम्पपीडितको अनुदान बढाउनेबारे छलफल भएको भएपनि निर्णय नभएको उनको दावी छ ।