मुस्लिम टोपी लगाउँदै उपेन्द्र यादवले दिए केन्द्र सरकारलाई कर रोक्ने
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले २ नम्बर प्रदेशको विकासका लागि केन्द्र सरकारले समुचित बजेट नदिए यो प्रदेशवाट केन्द्रीय सरकारलाई जाने बजेट रोक्ने चेतावनी दिएका छन् । केन्द्रीय शासनमा रहेकाहरु २ नम्बर प्रदेशप्रति पूर्वाग्रही रहेको आरोप लगाउँदै यादवले यो प्रदेशको विकासका लागि केन्द्र सरकारले उचित वजेट दिन आनाकानी गरिरहेको आरोप लगाए ।
मुस्लिम समाज नेपालद्वारा शनिबार राजविराजको रहमतपुरमा आयोजित सम्मान कार्यक्रममा यादवले २ नम्बर प्रदेशको विकासका लागि केन्द्र सरकारले विशेष प्याकेजको ब्यवस्था गर्नुपर्ने बताए । ‘२ नम्बर प्रदेशको विकासका लागि आवश्यक बजेट दिइएन भने यो प्रदेशबाट जाने कर पनि काठमाडौं जान दिंदैनौं,’ यादवले भने ।
कार्यक्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेश गरिव, बेरोजगारी, अशिक्षा, पिछडापन लगायतका समस्याले ग्रसित रहेको बताउँदै यो प्रदेशलाई सुशासित, समृद्ध र विकसित वनाउनु चुनौती र अवसर दुवै भएको बताए ।
प्रदेशका भूमि व्यवस्थापन तथा कृषि मन्त्री शैलेन्द्रप्रसाद साहले जनसंख्याका आधारमा सबैको प्रतिनिधित्वको ग्यारेन्टीका लागि प्रदेश सरकार क्रियाशील रहेको बताए । कार्यक्रममा मुस्लिम समाज नेपाल सप्तरीले यादव, राउत र साहलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा यादव समेत उपस्थित अथितीहरुले मुस्लिमहरुका धार्मिक टोपी समेत लगाएका थिए ।