अस्थायी शिक्षक परीक्षा कुनै पनि हालतमा सर्दैन : आयोग, परिक्षाको सम्पूर्ण तयारी पूरा
भक्तपुर : शिक्षक सेवा आयोगले अस्थायी शिक्षक व्यवस्थापनका लागि यही चैत २३ गते हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष ताना गौतमले परीक्षा अब कुनै हालतमा नसर्ने बताए ।
परीक्षामा कूल २३ हजार २८६ अस्थायी शिक्षक सहभागी हुनेछन् । शिक्षा ऐनको आठौँ संशोधनले गरेको व्यवस्थानुसार १५ हजार ६८९ शिक्षक र नवौंँ संशोधनले पछि थप गरेको सात हजार ५९७ दरबन्दी गरी कूल २२ हजार ७६ पदका लागि परीक्षा हुने भएको छ ।
परीक्षाका लागि देशभरका पाँच जिल्लामा ११६ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिँदै कानूनले गरेको व्यवस्थानुसार आयोग परीक्षा तयारीमा जुटेको अध्यक्ष गौतमले बताए। परीक्षामा झापामा २६, काठमाडौं ३०, कास्कीमा ३२, बाँकेमा १७ र कञ्चनपुरमा ११ परीक्षा केन्द्र कायम गरिएको छ ।
शिक्षक आन्दोलनतर्फ संकेत गर्दै उनले भने, “परीक्षा नै नदिई ६० वर्ष कटाउन चाहने, परीक्षामा उत्तीर्ण हुन सक्दिन भन्ठान्ने र २०७२ पछि नियुक्ति पाएकाहरुले गरेको आन्दोलनले परीक्षा रोकिँदैन ।”
आयोगका सचिव एवं प्रशासकीय अधिकृत डा. तुलसी थपलियाले परीक्षा सञ्चालनका लागि प्रजिअको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको बताए। उनका अनुसार हरेक केन्द्रमा एक एक गरी ११६ केन्द्राध्यक्ष, २३२ सहायक केन्द्राध्यक्ष र एक हजार २८३ निरीक्षक परीक्षामा खटिनेछन् ।