Logo
११ मंसिर २०८१, मंगलबार
(March 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इयु प्रतिवेदन : राजपा-फोरम पक्षमा, एमाले, कांग्रेस र माओवादी बिपक्षमा

काठमाडौँ : निर्वाचन पर्यवेक्षण पछि यूरोपेली संघ (इयु) ले प्रस्तूत गरेको प्रतिवेदनप्रति अब दलिय बिभाजनपनि देखिएको छ । ठूला राजनीतिक दलले विरोध गरिरहँदा मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी ९राजपा०, नेपाल र संघीय समाजवादी फोरम, नेपालले समर्थन गरेका छन् ।

खसआर्यलाई समानुपातिक प्रतिनिधित्वको व्यवस्थाबाट हटाउनुपर्ने सुझावसहितको प्रतिवेदनको चर्को आलोचना भइरहँदा राष्ट्रिय सभाको मंगलबारको बैठकमा राजपा र फोरमका सांसदहरुले भने सकारात्मकरुपमा लिनुपर्ने धारणा राखे । राजपा सांसद बृशेषचन्द्र लालले इयुको निर्वाचन पर्यवेक्षण मिसन प्रतिवेदनमाथिको बहस गलत दिशातर्फ मोडिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

इयु प्रतिवेदनलाई हस्तक्षेप भन्नु भन्दा पनि तार्किक विश्लेषण आवश्यक रहेको लालको भनाइ छ । ‘सुझाव कति ठीक, कति बेठीक छ भनेर तर्कसंगतरुपमा केलाउनुपर्छ,’ उनले भने, ‘इयुले गरेको सुझाव सकारात्मक छ, सुझाव सुझाव हो, आक्रोस व्यक्त गर्नु आवश्यक छैन ।’ ‘इयु वा यस्तै अन्तर्राष्ट्रिय संस्थाले लोकतान्त्रिक अभ्यास, प्रतिनिधित्वको स्थिति, निर्वाचनको प्रक्रिया र मानवअधिकारको आजको अवस्थाको अध्ययन गर्दछ र प्रतिवेदन दिन्छ भने के कुनै पनि देशको सार्वभौमिकतामाथिको हस्तक्षेप हो ? कुनै देशको संविधानमाथिको टिप्पणी हस्तक्षेप हो ?,’ नेपालको संविधान अझै विवादित अवस्थामा रहेको भन्दै लालको प्रश्न थियो, ‘त्यसो हो भने संविधानको समर्थनलाई पनि हस्तक्षेप नै भन्नुपर्‍यो ।’ प्रतिवेदनलाई धर्मसँग जोड्नु अर्को आपत्तिजनक भन्दै सांसद लालले यसो गर्दा अर्को अनिश्चित प्रतिक्रिया उत्पन्न हुन सक्छ भन्ने हेक्का राख्नुपर्ने बताए ।

संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिलाकुमारी यादवले पनि इयु प्रतिवेदन सकारात्मक रहेको उल्लेख गर्दै गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक भएको बताइन् । एमाले, कांग्रेस र माओवादीका सांसदहरुले भने ईयुको प्रतिवेदनको विरोध गरे ।

कांग्रेसका बद्रि पाण्डेले इयुको उक्त प्रतिवेदनले नेपालको संविधान माथि हस्तक्षेप गरेको भन्दै स्वीकार्न नसकिने बताए । ‘प्रतिवेदन सच्याउनुपर्छ,’ उनले भने, ‘प्रतिवेदनका नाममा भएको हस्तक्षेप अस्वीकार्य छ ।’  पाण्डेले कुटनीतिक आचारसंहिताविपरीत राजदूतहरु विभिन्न प्रदेशमा गएको भन्दै त्यस्ता गतिविधि रोक्न सरकारसँग माग गरे।

माओवादीका रामनारायण बिडारीले विदेशी पैसाले नेपालको धर्म निरपेक्षता माथि चलखेल भएकाले सरकारले प्रतिरक्षा गर्नुपर्ने बताए। ‘इयुको त्यस्तो बेइमानपूर्ण प्रतिवेदन स्वीकार्न सकिंदैन,’ उनले भने । एमाले सांसद उदया शर्मा पौडैलले आफ्नो दायरा भुलेर इयुले घातक प्रतिवेदन दिएकाले सच्याउनुपर्ने बताइन्। ‘इयुले धाँधली भएको, मतदाता शिक्षाको अवस्था, प्रोक्सी मत हालेको छ कि छैन हेर्ने हो,’ उनले भनिन् ।

एमालेका शेरबहादुर कुवँरले नेपाली जनता मिलेर देख्न नसक्नेले संविधान जारी गर्दा पनि यस्तै विरोध गरेको भन्दै अहिले सुझाव भन्दा पनि निर्देशन जस्तै आएको आरोप लगाए । एमालेकी कोमल वलीले नेपाल विविधतायुक्त मुलुक भएको भन्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धमिल्याउने कोसिस भएको बताइन् ।

प्रकाशित मिति: Mar 27, 2018

प्रतिक्रिया दिनुहोस्