तीन सातापछि नेप्सेमा छायो ‘हरियाली’,लगानीकर्ता खुशी
काठमाडौं : तीन सातापछि सेयर बजारमा हरियाली छाएको छ । जसले लगानीकर्तालाई फेरि खुशी बनाएको छ । यसअघि फागुन १३ गते १८ अंकले बढ्नुबाहेक त्यसपछि बजारमा दोहोरो अंकको सुधार हुन सकेको थिएन ।
पछिल्लो हप्तादेखि ठूलो अंकले गिरावट आइरहेको बजार मंगलबार सकारात्मक देखिएको छ । बजार घटिरहेको अवस्थामा अर्थ मन्त्रालयले यसै साता श्वेतपत्र जारी गर्ने समाचार बाहिर आएपछि बजार उकालो लागेको जानकारहरुले बताएका छन् ।
उनीहरुका अनुसार मुलुकको वर्तमान आर्थिक अवस्था र भविष्यमा लिनुपर्ने रणनीति समेटिने श्वेतपत्रमा सेयर बजार पनि सम्बोधन हुने आशमा बजार बढेको हो । सोमबार ५२ अंकले घटेको बजार यसदिनको कारोबार सुरु भएको केही समय घट्ने संकेत देखाए पनि दिनको एक बजेदेखि सुधारिन थालेको थियो । अन्ततः परिसूचक ३९.१६ अंकले बढेर १२ सय ७ दशमलव ७१ अंकमा पुगेर कारोबार बन्द भएको थियो ।
नेप्से बढ्दा यसदिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ८.०९ अंकले बढेर २५७.७४ अंकमा पुगेको छ ।
नेप्से बढ्दा मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार पौने ५८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५० करोड ६१ लाख २६ हजार ७०३ रुपैयाँको कारोबार भएको छ । यसक्रममा १६६ कम्पनीका १५ लाख ११ हजार ६४० कित्ता सेयर किनबेच भए ।