मल्लकालदेखि आधुनिककालसम्म : यसरी भयो नेपाली रङ्गमञ्चको विकास
काठमाडौं : नेपाली रङ्गमञ्चीय प्रस्तुतिको थालनी भारतवर्षका सम्राट् विक्रमादित्यले भारतको उज्जैनबाट नेपालमा हरिसिद्धि नाच ल्याएर देखाएपछि शुरू भएको प्राचीन मान्यता छ । विक्रमादित्यले आफ्नो कुल देवता हरिसिद्धिलाई कलशमा राखेर नेपालको नीलतारा भन्ने ठाउँमा स्थापित गराएर नृत्य, सङ्गीत, नाटकको थालनी गराएको मानिन्छ । हरिसिद्धि नृत्यनाटकका साथै लिच्छवी कालमा अन्य नाटक पनि हेर्ने परम्परा रहेको इतिहास भेटिन्छ । १००३ सालमा आएर बन्द भएको हरिसिद्धि नृत्यनाटक परम्परा त्यसको ५ सय १४ वर्षपछि अर्थात् १५१७ सालमा मल्ल राजा अमर मल्लले पुनः सुचारु गराएको पाइन्छ । मल्ल राजाहरू नाटक हेर्नमात्रै नभएर नाटक लेख्न र अभिनय गर्न समेत अग्रसर हुने गरेकाले नेपाली रङ्गमञ्चको विकासमा मल्ल काललाई स्वर्णिम युग मानिन्छ ।
नाटक लेखन इतिहासको सन्दर्भमा १९६२ सालमा पहलमानसिंह स्वाँरले लेखेको ‘अटलबहादुर’ नेपाली नाटक लेखनको सबैभन्दा पुरानो अभिलेखका रूपमा भेटिएको छ । यसअघि १८५५ सालमा शक्तिवल्लभ अर्यालले संस्कृतबाट नेपाली भाषामा अनुवाद गरेको ‘हास्यकदम्ब’ नाटकलाई नेपाली नाटकको प्रारम्भ विन्दुको रूपमा लिइन्छ । यस्तै, १९४४ सालमा मोतीराम भट्टले कालिदासले लेखेको ‘अभिज्ञान शाकुन्तलम्’लाई नेपाली भाषामा अनुवाद गरी ‘शकुन्तला’ नाटक प्रदर्शन गराएको प्रसङ्गलाई हिन्दी र उर्दूको बाहुल्य तोडेर नेपाली भाषामा नाटक देखाउनु त्यो समयको क्रान्तिकारी कदमको रूपमा चर्चा गर्ने गरिन्छ ।
नेपाली नाटकको आधुनिक काल
१९०४ सालदेखि राणा शासन शुरू भएपछि नाटकको प्रयोग दरबारभित्र मनोरञ्जनका लागि मात्रै गरिन थालियो । राज दरबारमा मात्र सीमित रहेको हिन्दी र उर्दू भाषाको नाटकमा नेपाली मौलिकता भिœयाई रङ्गमञ्चलाई आम जनमानसमा पु¥याउने काम भने १९९५ सालमा आएर नाटककार बालकृष्ण समले गरेको पाइन्छ । दरबारमा नै हुर्किएर दरबारी रङ्गमञ्चसँग परिचित समले ‘मुकुन्द–इन्दिरा’ नाटक लेखेर पहिलोपटक दरबार बाहिर ल्याएर मञ्चन गराएपछि आधुनिक नेपाली नाटकको शुरुआत भएको मानिन्छ ।
१९९७ सालमा रङ्गकर्मी बेखानारायण महर्जनले पहिलोपटक काठमाडौंको भोटेबहालमा डबली बनाएर नाटक ‘राजकुमार विश्वन्तर’ देखाएका थिए । काठमाडौं, भक्तपुर र ललितपुरमा सुकुलमा देखाइने ‘ज्यापू नाटक’लाई महर्जनले परिमार्जन गरी डबली परम्पराको शुरुआत गरेको पाइन्छ । यसपछि गोपालप्रसाद रिमाल, भीमनिधि तिवारी, गोविन्द गोठाले, विजय मल्ल, सत्यमोहन जोशी, सरुभक्त, अशेष मल्ल, अभि सुवेदी, शकुन्तला शर्मा, हरिहर शर्मा, हरिबहादुर थापा, प्रचण्ड मल्ल, मदनदास श्रेष्ठलगायत व्यक्तित्वहरूले नाटक लेखन, निर्देशन तथा अभियनका माध्यमबाट नेपाली रङ्गमञ्चको विकासमा योगदान पुर्याएका छन् ।
नेपाली रङ्गमञ्चको विकासक्रममा सरकारी तवरबाट राजा महेन्द्र शाहको शासनकालमा जनस्तरको पहिलो नाट्यशालाको रूपमा २०१६ सालमा ‘राष्ट्रिय नाचघर’को स्थापना भएको थियो । शुरुआती केही समय यो सरकारकै अधिनमा रहे तापनि २०२८ सालपछि सर्वसाधारणको सहज पहुँच यसमा पुगेको देखिन्छ । सांस्कृतिक संस्थानअन्तर्गत रहेको राष्ट्रिय नाचघर नेपाली नाटक मञ्चनका लागि महत्त्वपूर्ण थलोको रूपमा छ । हालसम्म पनि राष्ट्रिय नाचघरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजनाका साथै नाटक मञ्चन हुँदै आएका छन् ।
यसैगरी २०६७ सालमा नेपाली सङ्गीत र नाट्य क्षेत्रको विकास र संवद्र्धनका लागि ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान’को स्थापना भयो । यो प्रतिष्ठानमार्फत विभिन्न गोष्ठी, सेमिनार, प्रशिक्षण, नाट्य महोत्सवलगायत कार्यक्रम आयोजना हुँदै आएका छन् । देशका विभिन्न भागमा नाटकघरको स्थापना गर्न पनि यसले पहल गर्दै आएको छ ।
निजीक्षेत्रबाट स्थापना भएका आरोहण गुरुकुल, सर्वनाम थिएटर, मण्डला थिएटर, शिल्पी थिएटर, कुञ्ज थिएटर, थिएटर भिलेज, थिएटर मललगायत नाटक घरहरूले नेपाली रङ्गमञ्चको विकास र संवद्र्धनका साथै धेरै नाट्यकर्मी, कलाकार, निर्देशक, लेखकलाई स्थापित गराएका छन् । हाल केही थिएटर बन्द भइसकेका छन् भने केही सञ्चालनमा छन् ।
उपत्यकाबाहिर दमक, धरान, विराटनगर, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, सुर्खेतलगायत स्थानमा पनि रङ्गमञ्चको चहलपहल छ । नेपाली रङ्गमञ्चका कलाकार र निर्देशकहरू पछिल्लो समय नेपाली चलचित्रको क्षेत्रमा समेत आफ्नो वर्चस्व कायम गर्न सफल छन् ।
लेखनमा खडेरी
नेपाली आधुनिक नाटकको इतिहासले करीब ८ दशक पार गरिसक्दा नेपाली नाटक लेखनमा कलम चलाउनेहरूको भने कमी देखिएको छ । बालकृष्ण समपछिको केही कालखण्डसम्म साहित्यका अन्य विधाझैं नाटकको लेखनमा पनि प्रखर रूपमा कलम चल्थे । तिनै कालका नाटकले आज पनि लोकप्रियता कमाइरहेका छन् । तर, नेपालमा नाटक घरहरूको स्थापनाको क्रमसँगै नाटक लेखनमा भने खासै उल्लेख्य प्रगति नभएको मण्डला थिएटरका अध्यक्ष एवम् कलाकार दयाहाङ राई बताउँछन् । नाटक लेखनका कार्यशाला पनि सञ्चालन भइरहेका छन् । तर, यसबाट पनि अपेक्षाकृत नाटककार जन्माउन सकिएको छैन । ‘लेखनका लागि निर्धारित समयको सिकाइ मात्रले नपुग्ने विषय भएकाले नाटककारको खडेरी नै छ,’ राई भन्छन्, ‘फेरि मञ्चनका लागि नाटक लेख्न धेरै जनाको सहकार्य आवश्यक पर्ने हुँदा त्यति सजिलो पनि छैन ।’ नेपाली नाटकको यो अभाव नाटक घरहरूले विदेशी भाषाका (अनुवादित) नाटकले परिपूर्ति गर्दै आएका छन् । यसमा कुनै सोझै अनुवाद मात्र र कुनै नेपालीकरण गरिएका छन् ।