मदन भण्डारी गोल्डकप : एपिएफ र सुनौलो संगम क्लबबीच प्रतिस्पर्धा हुँदै
बुटवल : बुटवलमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज) सशस्त्र प्रहरी बलको एपिएफ र बुटवलको सुनौलो संगम क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ३ बजेपछि बुटबलको रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुनेछ।
झापा ११ लाई ४–२ ले पराजित गर्दै एपिएफले क्वार्टरफाइनलको यात्रा तय गरेकाे हाे भने सुनौलो संगम क्लब वाई पाएर सिधै क्वार्टरफाइनल खेल खेल्न लागेको हो। यसअघि सोमबार भएको खेलमा यो वर्षको सबैभन्दा सफल टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हराउँदै आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिलो क्वार्टरफाइनलको १४औं मिनेटमा आर्मीले गोलको खाता खोलेको थियो। आर्मीका विवेक बस्नेतले गोल गर्दै टोलीलाई १–० को अग्रतामा राखे पनि त्यसपछि आर्मी गोल गर्न असफल भयो। खेलको ६२औं मिनेटमा आयोजकका विदेशी खेलाडी म्याक्सले गोल गर्दै टोलीलाई बराबरीमा पुर्याएका थिए।
पाँच मिनेटको अन्तरमा म्याक्सले नै आर्मीविरुद्ध अर्को गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाए। ७५औं मिनेटमा अर्का विदेशी खेलाडी एबाले गोल थपेपछि आयोजक एकेडेमी ३—१ गोलले विजयी भई सेमिफाइनल यात्रा पक्का गर्न सफल भयो। सोमबारको खेलमा दुई गोल गर्ने म्याक्स म्यान अफ दी म्याच भए। उनले १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे।
गोल्डकपको विजेताले १५ लाख ट्रफी,मेडल र उपविजेताले ७ लाख ५० हजारका साथै ट्रफी,मेडल प्राप्त गर्नेछन्। त्यस्तै सेमिफाइनलमा पुग्ने २ टोलीलाई पनि नगद १–१ लाख पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। चैत्र १९ गतेसम्म चल्ने प्रतियोगितामा १० टिम नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, थ्री स्टार, मनाङ मर्स्याङ्दी, झापा ११, मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौं,सुनौलो संगम युवा क्लब बुटवल, सुदूरपश्चिम ११ र मलेसियाको हिमालय फुटबल क्लबको सहभागीता रहेको छ ।