घर बहाल कर स्थानीय तहले नै असुल गर्ने
काठमाडौं : सरकारले घर बहाल कर असुलीको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषदको बैठकले स्थानीय तहले नै घर बहाल कर असुली गर्ने निर्णय गरेको हो ।
यसअघि घरबहाल कर आन्तरिक राजस्व कार्यालय र स्थानीय तह दुवैले असुली गर्ने गरेका थिए । दुई तहबाट कर असुली हुँदा घरधनी मारमा परेको र दोहोरो कर लाग्ने अवस्था भएपछि यो अधिकार स्थानीय तहलाई दिइएको हो ।
‘संविधाअनुसार स्थानीय तहले घर बहाल कर असुली गर्ने व्यवस्था छ, त्यो अधिकार अब सम्बन्धि तहले नै प्रयोग गर्नेछ,’ अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले भने ।
स्थानीय र केन्द्र दुवैले घर बहाल कर असुली गर्दा दोहोरो करको मारमा पर्ने भन्दै सर्वसाधारणबाट पनि गुनासो बढिरहेको थियो । अर्थ मन्त्रालयले मन्त्रिपरिषदको निर्णयपछि कार्यान्वयनमा आउने गरी घर बहाल कर तल्लो तहमा हस्तान्तरण गर्ने प्रस्ताव पठाएको थियो ।